२९ चैत, काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउने पूर्वमन्त्रीदेखि बहादवाला सभासद्सम्म ट्राफिक कारबाहीमा परेका छन् । पछिल्लोपटक पूर्वराज्यमन्त्री खोभारी राय यादब तथा बाहालवाला सभासद अर्जुन जोशी र आङटावा शेर्पा प्रहरी कारबाहीमा परेका हुन् ।

 

स्वयम्भूमा बिहीबार राति ट्राफिक प्रहरीले एउटा मोटरसाइकल रोक्यो । ट्राफिकलाई छल्ल खोज्दा चालक सडकमा पछारिए । मदिराले मातिएका ती चालक थिए पूर्वराज्यमन्त्री यादब । शुरुमा ट्राफिक प्रहरीले ठम्याउन सकेन् । सोधपुछ गर्दा उनी पूर्वमन्त्री भएको खुलेको थियो ।

 

यादब मापसे कारबाहीमा परेको घटना यो पहिलो होइन् । यसअघि उनी तीनपटक कारबाहीमा परिसकेको स्रोतले बताएको छ । दुर्घटनामा सामान्य घाइते भएका यादबको सवारी चालक अनुमतिपत्र ट्राफिक प्रहरीले राखेको छ । केहीदिन अघि सभासद् जोशी पनि ललितपुरको सानेपामा ट्राफिक प्रहरीको फन्दामा परेका थिए । त्यस्तै नेपाली कांग्रेस रामेछापका नेता एवं सभासद् आङटावा शेर्पा पनि मापसे गरेर सवारी चलाइरहेका बेला राजधानीको कमलपोखरीबाट पक्राउ परेका थिए ।

 

मापसे कारबाहीमा पूर्वअर्थ सचिव रामेश्वर खनाल पनि परेका छन् । खनाललाई सुकेधाराबाट केहीसमय अघि समातिएको थियो । उनीहरुसबैको लाइसेन्स प्वाल पारेर प्रहरीले दिएको छ ।

चलचित्रका नायक भुवन केसी पनि दुई दिन अघि दोस्रो पटक मापसे कारबाहीमा परेका छन् । मंगलबार हनुमानस्थानमा मापसे गरेका केसीको लाइसेन्स प्रहरीले नियन्णमा लिएपछि उनी भोलिपल्ट ट्राफिकको कक्षा लिन गएका थिए ।

 

ट्राफिक महाशाखाका प्रमुख डीआईजी केशव अधिकारीले मापसे कारबाहीमा कसैलाई छुट नदिन मातहतका कार्यालयका इन्चार्जलाई निर्देशन दिएका छन् । अन्नपूर्ण पोस्टबाट