१ बैशाख, अबुजा (एजेन्सी) । नाइजेरियाको राजधानीको बाहिरी भागमा सोमबार बिहानै यात्रुले भरिएको एक बसमाथि भएको बम आक्रमणमा ७१ व्यक्तिको मृत्यु भएको छ भने १२४ व्यक्ति घाइते भएका छन् । यस मुलुकका राष्ट्रपति गुडलक जोनाथनले यस आक्रमणको दोष बोको हराम इस्लामीमाथि लगाउनुभएको छ ।

 

अबुजाको न्यान्या बसबिसौनीमा बिहान ६:४५ बजे उक्त विस्फोटको आवाज सुनिएको थियो । यसका कारण मृतकका शरीरका भाग बिसौनीभर छरिएका थिए भने अन्य दर्जनौँ गाडी नस्ट भए ।

 

नाइजेरियाको सङ्घीय राजधानी क्षेत्रमा यसअघि यस प्रकारको घातक घटना भएका थिएनन् ।

अधिकारीहरूले यसअघि दुई पृथक बम उक्त क्षेत्रमा विस्फोट भएको बताएका थिए तर पछि उनीहरूले एकै बमले उक्त क्षति पुगेको बताए ।

 

राष्ट्रिय आपत्काल व्यवस्थापन संस्थाका खोजी तथा उद्दार कार्यका प्रमुख चाल्र्स ओटेग्बेडले विस्फोट उक्त बिसौनीमा रोकिएको गाडीमा भएको बताए ।

राष्ट्रिय प्रहरी प्रवक्ता फ्र्याङ्क एमबीएले ७१ व्यक्तिको मृत्यु भएको तथा १२४ घाइते भएको बताए । हाल घाइतेको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

 

घटनास्थलको भ्रमण गर्दै राष्ट्रपति गुडलक जोनथनले बोको हरामले हाल सञ्चालन गरिरहेको क्रूर विद्रोहलाई दबाइने बताउनुभयो । उहाँले यस समूहले सन् २००९ देखि मुलुकको उत्तरी तथा मध्यभागमा हजारौँ व्यक्तिको हत्या गरेको आरोप लगाउनुभयो ।

 

उहाँले बोको हराम आफ्नो मुलुकको विकास तथा वर्तमान अवस्थाको नराम्रो इतिहास भएको बताउँदै यो समूह अस्थायी हुने र यसलाई नियन्त्रण गरिने बताउनुभयो ।

 

यस इस्लामी समूहले यसअघि राजधानीवरपर अनेकौँ आक्रमण गरेको छ र सन् २०११ मा संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा कारबम आक्रमण गरी २६ व्यक्तिको हत्या गरेको थियो ।

यस विस्फोटका कारण करिब ४ फिट गहिरो खाडल परेको बताइएको छ ।