yarsa 2
२२ जेठ, काठमाडौं ।  सुमद्रीसतहबाट करिव १६ हजार फिट उचाइमा टाङटुङे लेकलको फेद, पूर्व र पश्चिम भिरालो पाखो। बीचमा सानो खोला। यार्सागुम्बा खोज्न गएका डोल्पा शर्मी गाविसका बासिन्दा त्यही खोलामा पाल टाँगेर सुतेका थिए। मध्यरातमाथिबाट हिउँपहिरो खस्यो। यार्सा बेचेर जीवन उज्यालो बनाउने सपना बुनिरहेका १६ जनाको देह खोलामै समाप्त भयो।
 
यो २०६४ जेठ १५ गतेको घटना हो। त्यसअघि र पछि यार्सा टिप्न गएका थुप्रै स्थानीय यसरी नै मृत्युको मुखमा परेका छन्। आजको नागरिक दैनिकमा खबर छापिएको छ।
 
‘पैसाका कारण यार्सा जति आकर्षक छ, त्यसलाई पाउन उत्तिकै जोखिम पनि छ,’ डोल्पा करमगाडका रत्नबहादुर रोकाय भन्छन् ‘मृत्युलाई जित्ने हिम्मत लिएर यार्सा टिप्न घरबाट हिँडनुपर्छ।’ यही सातामात्र मुगुको हिमाली क्षेत्रमा यार्सा टिप्न गएका तीनजनाको ज्यान गयो।
 
जुम्लाका मीनबहादुर तिरुवा, मानबहादुर बानियाँ र मानबहादुर बोहोरालाई उनहिरुसँग रहेको यार्सागुम्बाले बचाउन सकेन। यार्सा टिपेर घर फर्कदै गरेका उनीहरुको मुगु थापाखोलानजिकै लेक लागेर मृत्यु भयो।
 
यार्सा संकलन गर्न जानेहरु सबैभन्दा बढी लेक लाग्ने समस्याले मृत्युको मुखमा पुग्छन्। हिमपहिरोमा पुरिएर, चिसोले कठ्याग्रिएर र भीरबाट खसेर पनि मृत्यु हुने गरेको छ। ध्यान यार्सामा एकाग्र हुदाँ उनीहरु आफ्नो ज्यानलाई समेत पर्वाह गर्देनन्।

 

आपसमा हुने हिंसात्मक घटना र द्धन्द्धले पनि उनीहरु जोखिममा हुन्छन्। २०६६ साल जेठ २७ गते यार्सागुम्बा टिप्न गएका गोरखा करौचा गाविसका सात जनाको भार भन्ने स्थानमा हत्या भयो। यार्सा नेपालका उत्तरी २० जिल्लामा पाइने बताएपनि विशेषगरी डोल्पा, बझाङ, जुम्ला, बाजुरा, रुकुम, मुगु, धादिङ, मनाङ, दार्चुला, गोरखामा अधिक मात्रामा संकलन गरिन्छ।
 
नेपालीको ज्यान हत्केलामा राखेर संकलन गरेको यार्सा विदेशी बजारमा पुगेपछि सुनझैं मंहगो भएर बेचविखचन हुन्छ। हाल चीनमा यसको बजार मूल्य प्रतिकेजी ६० लाख छ। नेपालमा भने प्रतिकेजी २८ लाख मात्र छ ।