राजनीतिक टिप्पणी

नेकपा एमालेभित्र नवौं महाधिवेशनको चर्चा सुरु भएदेखि न नेता तथा कार्यकर्ताहरु जति नै त्यसको तयारीमा होमिए पनि क्यालेण्डर अनुसार काम हुन सकेको छैन । तयारी अपुग भन्दै कहिले महाधिवेशनको मिति सर्छ त कहिले प्रतिनिधि छनौटको । र कहिले के सर्ने हो टुंगो नभएपछि कार्यकर्तामा अन्यौल हुने नै भयो । यसपाली प्रतिनिधि चयनको मिति सरेको छ ।

CPN UML office

बिहिवार मात्रै अचानक एमालेको महाधिवेशन प्रतिनिधिको निर्वाचन सरेको छ । जेठ ३० गतेका लागि पूर्वनिर्धारित प्रतिनिधिहरुको निर्वाचन एक साता पछि धकेलिएको छ । प्रतिनिधि चयनको मिति असार ७ गतेलाई तोकिएको छ । जसमा देशभरका सबै जिल्ला कमिटी, जनवर्गीय संगठन लगायत सबै निकायमा महाधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ ।

‘महाधिवेशनको प्राबिधिक र व्यवस्थापकीय तयारी नपुगेका कारण्ँ प्रतिनिधि चयनको मिति एक सातालाई पर सार्ने निर्णय भएको छ’– एमाले प्रचार विभागका सचिव सूर्य थापाले जानकारी दिए । नया तालिका अनुसार असार ८ गते उपचुनाव हुने काठमाडौं, चितवन, बर्दिया र कैलाली बाहेकका सबै ठाउँमा एकै दिन असार ७ गते प्रतिनिधि छनौट हुनेछ । चुनावको नया मिति तय भएपनि कति सदस्य बराबर एक प्रतिनिधि भन्ने टुंगो लगाउन अझै बाँकी नै छ ।

तय नभएपनि करिब तीन सय सदस्य बराबर एक जना प्रतिनिधि हुन सक्ने अनुमान गरिएको छ । हालसम्म २ लाख ५० हजार संगठित सदस्यको अभिलेख तयार भइसकेको छ । अरु बाकी रहेका जिल्लाको विवरण आएपछि सदस्य संख्या करीव २ लाख ६० पुग्ने अनुमान छ । यसअघि, नवौं महाधिवेशन मात्रै दुई–दुई पटक सरिसकेको छ । सुरुमा जेठ ३ गते महाधिवेशन गर्ने घोषणा भएको थियो । त्यो मितिमा महाधिवेशन भएन ।

अर्को मिति तय भयो जेठ २४ लाई । त्यो पनि अलपत्र भयो । नया मिति तोकेपनि त्यसका लागि बनाइएको क्यालेण्डर अनुसार काम भने भएको थिएन । जेठ २४ मा गर्ने भनिएको महाधिवेशनको तयारी तथा पार्टीका अन्य निर्णय ओली बिरामी भएर भारत गएपछि अलपत्र परेको थियो । संसदीय दलका नेता केपी शर्मा ओली लगातार विरामी भएकाले पनि एमालेले महाधिवेशनको मिति पछि सार्दै आएको हो । अन्ततः नेकपा एमालेको नवौं महाधिवेशन समय अभाव भन्दै एक महिना पर सारियो । त्यो कुनै अनौठो विषय थिएन ।

एमालेभित्रको शीर्ष नेताहरुको भाले भिडन्त लुकेको विषय रहेन । पार्टीभित्रको गुट–उपगुटहरुको चरम प्रतिस्पर्धाले एउटै पार्टीभित्र बहुसमूह विगतदेखि नै देखिने गरेको छ । महाधिवेशनका लागि भइरहेको तयारी र दस्तावेज निर्माण्ँमा भएको ढिलाइले महाधिवेशन समयमा नहुने अड्कलबाजी सबैले पहिले नै गरेका थिए । नभन्दै महाधिवेशन एक महिनालाई स्थगित भएको थियो । दोस्रो पटक तय भएको मितिमा पनि महाधिवेशनका हुन नसकेपछि असार १९ गतेलाई फेरि नया मिति घोषणा भयो । पार्टी सदस्यता नविकरणले पनि धेरै दुःख दियो ।

‘देशभरिको सदस्या नविकरण गर्न निकै समय लाग्यो’– एमाले नेता रविन्द्र अधिकारीले भने, ‘समय अभावका बीच सदस्यता नविकरण त सकियो तर प्रिन्ट गर्न नभ्याएपछि कार्यकर्ताको हातमा पुग्न सकेको छैन ।’ एमाले महाधिवेशन व्यवस्थापन योजना आकर्षक भएपनि तयारी भने झूर छ । निर्णय राम्रा भए पनि कार्यान्वयन नगरिँदा महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिले अहिलेसम्म दस्तावेज समेत पढ्न नपाएको गुनासो सुनिएको छ ।

त्यतिमात्रै कहाँ र ? महाधिवेशन प्रचारका लागि नयाँ प्रविधिको प्रयोग गर्ने निर्णय गरेको एमालेले अहिलेसम्म फेसबुक पेज, ट्वीटर पेज खोल्न सकेको छैन । न त यसबारे सञ्चारकर्मी र कार्यकर्तालाई जानकारी गराएको छ । भद्रगोल तयारीले स्वयं आयोजक र कार्यकर्तामा पंक्तिमा अन्योल बढेको प्रष्ट देख्न सकिन्छ । यसरी तीन पटक मिति घोषणा भइसकेको र दुई पटक मिति सरिसकेकोले महाधिवेशनको मिति अझै पनि नसर्ला भन्न सकिन्न ।