२५ असार, इलाम । सरकारी सेवामा शाखा अधिकृत स्तरका कर्मचारीको तलबभन्दा दोब्बर कमाइ गर्न सक्षम भएपछि टेकबहादुर राईलाई अहिले कुनै पछुतो छैन । हालै घोषित पूर्वी सूर्याेदय नगरपालिका–५ केराबारीका राईको कमाइ आफ्नो व्यवसायप्रति पूर्ण सन्तुष्ट रहेको बताउँछन् । बिहानदेखि बेलुकासम्म आफ्नै बङ्गुर फार्ममा खटेर अधिकृतभन्दा बढी कमाउँछन् राई । बङ्गुरबाट उनको कमाइ लोभलाग्दो छ ।
    
pig-farmingविसं २०६० मा काठमाडौँस्थित कान्तिपुर पब्लिकेशनबाट छँदाखाँदाको जागिर चटक्कै छाडेर गाउँ हान्निएका उहाँले घरमै बङ्गुरपालन व्यवसाय थालेका हुन् । काठमाडौँमा बस्दा उसबेला छ हजार जागिर थियो । त्यसले खान र पकेट खर्च नै चलाउन धौधौ परेपछि प्रेसको काम छाडेर घर फर्किएको हुँ, उनी भन्छन्, “अहिले महिनामा ५० हजारभन्दा बढी नै कमाउँछु, मीठो मसिनो खान पनि पुगेकै छ ।”
    
    घर फर्किएपछि स्नातक तह पढ्न थाले तर पूरा भने गरेको छैन् । उहाँको बङ्गुरपालन व्यवसाय फस्टाउँदै गयो । रु एक लाखले व्यवसाय सुरू गरको राईको अहिले खोरमा १० लाखभन्दा बढीका बङ्गुर छन् ।
    
    राईको बङ्गुर फार्ममा डयुयोर्क, हेमसायर, योर्कसायर जातका ६४ वटा बङ्गुर छन् । यसमा तीन दर्जनभन्दा बढी पाठापाठी छन् । एउटा भुनी माउले तीन महिनामा बच्चा पाउँछ । माउ पनि पाँच वटाभन्दा बढी छन् । महिनामा कम्तीमा ६० देखि ७० वटा पाठापाठी बिक्री गर्ने गरेको उनी बताउनुहुन्छ ‘गर्न सक्दा र खट्यो विदेशमा कमाउनेभन्दा दोब्बर यहीँ कमाउन सकिन्छ’ ।
     
    उन्नत जातका बङ्गुरबाट जन्मिएका पाठापाठी पाल्नका लागि गोदक, पशुपतिनगरलगायत जिल्लाकै अन्यत्र पनि लैजाने गरिन्छ । उत्पादित बङ्गुर र पाठापाठीको बजार सीमावर्ती सिक्किम र दार्जिलिङ हो । भारत पु¥याएपछि एउटा पाठो कम्तीमा चार हजार देखि पाँच हजारसम्म बिक्री हुने उनी बताउँछन् ।

    उनलाई बजारको पनि कुनै समस्या छैन । व्यापारी घरघरमै गाडी लिएर बङ्गुर किन्न आउँछन् । एउटा वयस्क बङ्गुरमा कम्तीमा पनि ३०० देखि ३२० किलोग्रामसम्म मासु हुन्छ । यसलाई रु ४० हजारदेखि ६२ हजारसम्ममा बिक्री हुने गरेको छ ।

    सबै खर्च कटाएर उनलाई मासिक रु ५० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । बङ्गुरको मासु खाँदा मानिसलाई कुनै पनि खालको असर नगर्ने भएकाले यसको मासुको माग बढ्दै गएको पाइन्छ ।
        
    थोरै लगानीमा बढी फाइदा लिन सकिने भएकाले पशुपतिनगर–९ तीनखुट्टेमा तुलु तामाङ, गोदकमा माईबेनी कृषि सहकारी संस्थाले पनि व्यावसायिक रूपमा बङ्गुरपालन व्यवसाय सुरू गरेका छन् ।