२५ असार, रुकुम । यहाँको एक विद्यालयका प्रध्यानाध्यापक विद्यालयको झन्डै रु सात लाख लिएर फरार भएका छन् ।

school-headteacher

 

जिल्लाको गोतामकोट गाविस–३ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालय चौताराका प्रध्यानाध्यापक सोविराम खड्काले विद्यालयका लेखापाल मरिचमान विष्टको हस्ताक्षर किर्ते गरेर विद्यालयको तेस्रो चौमासिक तलबसहित गाविसबाट प्राप्त सहयोग, दलित छात्रवृत्ति, मसलन्द, प्रावि तथा निमावि व्यवस्थापनको गरी रु छ लाख ३७ हजार ८८३ निकासा गरेको विद्यालयले जनाएको छ ।

 

सदरमुकाम खलङ्गास्थित नेपाल बैंक लिमिटेड मुसिकोट शाखाको चल्ती हिसाब नं १३८ बाट विभिन्न मितिमा गरी २९ पटकमा सो रकम निकासा गरी बुझेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद शर्माले जानकारी दिए ।

 

अध्यक्ष शर्माका अनुसार बैंक स्टेटमेन्टअनुसार २९ पटकमा रु १५ हजारदेखि रु दुई लाखसम्म रकम निकासा भएको छ ।

 

रुकुमकै पेउघा–७ घर भएका प्रअ खड्का २०७० साल चैतदेखि विद्यालयमै हाजिर नभएको पनि बताइएको छ । उनले बेलाबेला झिकेको रकम जुवा खेलेर मासेको बताइन्छ ।