११ साउन, बाजुरा बुढीगङ्गा नदीमा दुई महिनाअघि जडान गरिएको बेलिब्रिज पहिरो र नदीको बहावका कारण जोखिममा परेको छ । पुलको दक्षिणतर्फ माथिबाट ठूलै पहिरो झरेको छ । “एक मिटर वरसम्म पहिरो पुग्ने हो भने बेलिब्रिजमा क्षति पुग्छ”, स्थानीयवासी रामबहादुर विकले भने ।

 

अर्कोतिर नदीमा पानीको बहाव बढ्दै गएकाले पुल बगाउन सक्ने खतरा बढेको स्थानीय बासिन्दा बताउँछन् । ग्याबिन तारले निर्माण गरिएको कच्ची वालमाथि पुल अड्याइएका कारण यस्तो जोखिम खेप्नुपरेको हो ।

 

“नदीको तीव्र बहावले ग्याबिन जुनसुकै बेला भत्काउन सक्छ”, विक भन्छन् । बेलिब्रिज जडान गर्ने कम्पनीका प्राविधिकसमेत पुल जोखिममा रहेको स्वीकार्छन् । बुढीगङ्गामा बनेको बेलिब्रिज नेपालकै लामो पुल हो । यसको लम्बाइ ५० मिटर छ । यसले ६० टन तौल धान्न सक्ने प्राविधिकहरु बताउँछन् । करिब रु छ करोडको लागतमा बेलिब्रिज निर्माण गरिएको हो ।

 

जिल्ला तहमा भएको लामो सङ्घर्षपछि सरकारले निर्माण गरेको बेलिब्रिज दुई महिना नबित्दै खतरामा परेपछि उपभोक्ता चिन्तित छन् । यो पुल एक ठाउँबाट अर्को ठाउँ सार्न मिल्ने प्रकृतिको हो । प्राविधिकले सम्भावित जोखिम पूर्वआँकलन नगरी इस्टिमेट गरेको भन्दै जडान सुरु गर्दादेखि नै खतरा हुन सक्ने अनुमान गरिएको थियो ।