१२ साउन, गौशाला ।

महोत्तरीको रतौली गाविसमा एक नवविवाहितालाई मोटरसाइकल र गोदरेज (दराज)का लागि हत्या गरिएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

गत बिहीबार राति रतौली–६ मा नवविवाहिता मिन्टुदेवी मण्डललाई मोटरसाइकल र गोदरेजका लागि निजका पति रञ्जित मण्डलसहित पाँच जनाले मिलेर मिन्टुको हत्या गरेको मृतकका काका धनुषा जिल्लाको घोडघास–४ बस्ने रामदेव मण्डलले आरोप लगाएका छन् ।

रामदेवले पत्रकार सम्मेलन गर्दै आफ्नी भतिजी मिन्टुलाई निजका पति रतौली–६ बस्ने रञ्जित मण्डल, ससुरा जिवछ मण्डल, नाम नखुलेको सासू, नन्द र नन्दको पति बनौली दनौली गाविस–१ बस्ने सन्तोष मण्डलसहित मिलेर हत्या गरेको आरोप लगाएका छन् ।

उनले २०७० साल फागुन २३ गतेका दिन आफ्नी भतिजी मिन्टुको विवाह सामाजिक परम्पराअनुसार रञ्जित मण्डलसँग गरेको र बिहेको केही दिन नबित्दै ज्वाइँ रञ्जितले भतिजी मिन्टुलाई माइत पठाई मोटरसाइकल र गोदरेज मागेर ल्याउ नत्र ज्यान मारिदिन्छु भनेको पत्रकारहरूलाई बताएका छन् ।

शुक्रबार बिहान रतौली–६ मा मिन्टुको शव घरको १०० मिटर पश्चिममा रहेको एक आँपको रुखमा झुन्डिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो भने निजको घरमा अन्नपानी, लत्ता कपडा र घरका अन्य सामान छरिएको जस्तो अवस्थामा फेला पारेका थिए ।

प्रहरीले यस घटनालाई रहस्यमय भन्दै घटनाबारे गहन अनुसन्धान गरिरहेको कुरा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । रासस