२० साउन, इबिजा (एजेन्सी )

गत विश्वकपका दौरान क्वार्टरफाइनलमा ढाडको हड्डी भाँचिएका ब्राजिलियन स्टार फुटबलर नेमार अझै मैदानमा फर्कन सकेका छैनन् ।

 

यद्यपि मैदानबाहिर उनी अझै सक्रिय छन् । चोटबाट पूर्ण फिट नहुँदै नेमार गत शुक्रबार ‘म्याट्रेस’को विज्ञापन खेल्न जापान आइपुगे । त्यसलगत्तै नेमार स्पेनको इबिजामा पुगे, जहाँ उनी अमेरिकन फिल्म अभिनेत्री पेरिस हिल्टनसँग मस्ती गरिरहेका देखिए ।

 

नेमारले इबिजामा हिल्टन होटलका मालिक कोन्रेड हिल्टनकी छोरी पेरिससँग समुद्रीकिनारामा मस्ती गर्नुका साथै पार्टीको आयोजनासमेत गरेका थिए । हिल्टनसँग इबिजामा रमाइलो गरेका तस्बिर उनले इन्स्टाग्राममार्फत आफ्ना हजारौँ फलोअर्समाझ सार्वजनिक गरेका छन् ।

 

विश्वकप क्वार्टरफाइनल भिडन्तमा चिलीविरुद्धको खेलमा ढाडको हड्डी भाँचिएका नेमार हाल पूर्ण फिट हुन संघर्ष गरिरहेका छन् । उनलाई फिट हुन अझै केही समय लाग्ने चिकित्सकहरूले जनाएका छन् ।

 

चोटकै कारण नेमारले बार्सिलोनाबाट स्पेनिस ला लिगाका सुरुवाती केही खेल गुमाउने जनाइएको छ । यद्यपि उनी पछिल्लो समय प्रेमिका तथा अभिनेत्रीहरूसँग मस्ती गरिरहेका समाचार आउन थालेका छन् । अमेरिकन अभिनेत्री हिल्टन फुटबलरसँग मस्ती गरेको यो पहिलो अवसर होइन ।

neymar-with-hilton1

उनी यसअघि रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँग पनि रोमान्स गरिरहेको तस्बिर सार्वजनिक भएका थिए ।

 

सन् २००९ मा रोनाल्डो ८० मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड जाँदा हिल्टन रोनल्डोसँग देखिएका थिए । अमेरिकाको लस भेगासमा हिल्टन र रोनाल्डोसँगै पार्टीमा सहभागी भएका तस्बिर सार्वजनिक भएका थिए ।

neymar-with-hilton1