२३ साउन, म्याग्दी ।

 

शुद्ध मनले असल कामको सुरुवात गर्ने हो भने सबैबाट सहयोग मिल्दोरहेछ भन्ने उदाहरण म्याग्दीको बेनी नगरपालिका–६ बगुवाखोलाको बौद्धिक अपाङ्गता स्रोत कक्षा बनेको छ ।

 

बगुवाखोलाको बालजागृति प्राविमा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षालाई टिकाइराख्न र फरक क्षमता भएका बालबालिकालाई आवासीय सुविधा दिनका लागि विद्यालयले मुठीदान, चन्दा र देश–विदेशमा रहेकासँग सहयोगको आग्रह गरी आर्थिक सहयोग जुटाउने गरेको छ ।

 

म्याग्दी, बागलुङ र पर्वतका गरी २६ जना बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययनरत सो कक्षा सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालय म्याग्दीले एक शिक्षक र एक धाइको व्यवस्था गरीदिए पनि उनीहरुलाई खाना र आवासको व्यवस्था भने विद्यालयले नै गर्ने गरेको विद्यालयका प्रधानाध्यापक भक्त कार्कीले बताए ।

 

“हामीले समयसमयमा मुठीदान र चन्दा सङ्कलन गरेर कक्षा सञ्चालन गरिरहेका छौँ”– प्रधानाध्यापक कार्कीले भने–“जिल्ला र देश–विदेशमा रहेका व्यक्तिले पनि आर्थिक सहयोग गरिरहेकाले कक्षा सञ्चालनका साथै बालबालिकालाई निःशुल्क खाना र आवासको समेत सुविधा दिन सकेका छौँ ।”

 

शिक्षा नियमावली निर्देशिकाअनुसार १० जना बालबालिका बराबर एक शिक्षक र एक धाइको व्यवस्था रहे पनि यहाँ भने २६ जना बालबालिकाका लागि एक शिक्षक र एक धाइमात्र रहेकाले समस्या भएको प्रधानाध्यापक कार्कीले बताउनुभयो । साथै पोष्टिक आहारको कमी, बालबालिका बिरामी भइरहने, जनशक्तिको अभाव, उनीहरुको सुरक्षालगायतका समस्या रहेको प्रधानाध्यापक कार्कीको भनाइ छ ।