२७ साउन, काठमाडौँ ।
सूचना तथा संचारमन्त्री डा. मिनेन्द्र रिजालले सबैले आफ्ना अडान छोडेर संबिधान निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

minendra rijaal

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो १५ औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा संचारमन्त्री डा. रिजालले चर्का नारा लगाएका भरमा संविधान बन्न नसक्ने बताए । उनले दलहरुले अडान कायम राखे फेरि पनि संविधान बन्नै नसक्ने ठोकुवा गरे । मन्त्री रिजालले संविधानलाई सहमतिको दस्तावेज भन्दै संविधानले नसमेटेका विषय संविधान संशोधन गरेर समावेश गर्न सकिने भएकाले दलहरुले लचकता अपनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिमाथि वर्षौंदेखि विभेद हुँदै आएको भन्दै आगामी संविधानमा आदिवासी जनजातिका हकअधिकार सुरक्षित गरिनुपर्ने बताएका छन् । कार्यक्रममा आदिवासी जनजातिका मुद्दालाई महत्व दिएर समाचार लेखेको भन्दै विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीलाई पुरस्कृत गरिएको थियो । फोनिजले यस वर्षको आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका प्रताप बिष्ट, एबीसी टेलिभिजनका मिलन लिम्बू र रेडियो मैत्रीका सञ्चाकुमारी लामालाई जनही ४० हजार रुपैयाँ प्रदान गरेको हो ।