२७ साउन, काठमाडौं ।
तस्करी गर्नेहरुका अनेक दाउ र शैली हुन्छन् । मलद्धारमा चरेश लुकाएर ल्याउनेहरु विमानस्थलमा पक्राउ परेका घटना नेपालमा त्यति नौलो होइन, तर सिन्धुपाल्चोकमा तिघ्रामा सुन लुकाएर ल्याउने एउटा प्रयासलाई प्रहरीले विफल तुल्याएको छ ।

gold
दोलखाको च्यामा गाविसकी २९ बर्षीया माया शेर्पाले ठूलै आँट गरेकी थिइन् । दुवै तिघ्रामा दुई/दुई किलोको सुन लुकाएर चीनबाट नेपाल भित्राएर रातारात मालामाल हुने उनको सपना त्यति बेला टुट्यो, जब तातोपानी भन्सारका कर्मचारी र सशस्त्र प्रहरीको टोलीले पत्तो पायो ।

प्रहरीका अनुसार, उनले तिघ्रामा टेपले टाँसेर सुन भित्राउन खोजेकी थिइन् । असजिलो पारामा हिडिरहेकी उनलाई शंका लागेर जाँच्दा चार किलो सुन फेला परेको प्रहरीले जनाएको छ । तातोपानी नाका हुँदै चीनबाट सुन तस्करी हुने क्रम बढिरहेका बेला पछिल्लो पटक यो घटना भएको हो ।