४ भदौ, पोखरा ।

नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफुहरुलाई सहभागी नगराई संविधान जारी गरिए जन विद्धोहमा जाने चेतावनी दिएका छन् । पोखरामा तमुवान राज्य समितिका अगुवा कार्यकत्ताहरुलाई संवोधन गर्दै उनले यथास्थितीवादी र प्रतिगामी शक्ति मिलेर संविधान बनाउन लागेको आरोप लगाउँदै बैद्यले जनताको संविधान नबन्ने दावी समेत गरे ।

mohan baidya

उनले १० वर्ष जन युद्ध लडेको शक्तिलाई बाहिर राखेर जारी गरिने संविधानले शान्ति नदिने बताउँदै गोलमेच सम्मेलन मार्फत आउने सहमतिले मात्रै देशलाई निकाश दिने दावी पनि गरे ।

अध्यक्ष बैद्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण असफल भएको बताउँदै माओवादी र बुद्धिजीविले गरेको विरोद्धको कारण जलविद्युत सम्झौता हुन नसकेको जिकीर गरे । मोदीले मीठा र राम्रा कुरा गरेर यथास्थिती र प्रतिगामीलाई फकाएको बताउँदै उनले अब हुने मोदीको भ्रमणका बेला पनि कुनै सम्झौता हुन नसक्ने बताए ।

अध्यक्ष वैद्यले हालै देशको विभिन्न ठाउँमा भएको बाढीपहिरो पीडितलाई सरकारले राहत प्रदान र उद्धार गर्न नसकेको आरोप लगाए । कार्यक्रममा माओवादीका सचिव देव गुरुङ, नेत्र विक्रम चन्दको सहभागीता रहेको छ भने सम्मेलन विहीबारसम्म चल्ने छ ।

सम्मेलनमा पाटीले आगामी दिनमा लिने रणनितिका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । कार्यक्रममा करिब दुई सय अगुवा कार्यकर्ताको सहभागीता छ ।