७ असोज, काठमाडौ ।

 

राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना छोराको हत्यामा न्यायप्राप्तिका लागि आफ्नै ज्यान गुमाउनुपर्ने अवस्था आउनुलाई दुःखद् अध्यायका रूपमा लिएको छ ।

adhikari dampati

आफ्ना छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन विद्रोही नेकपा– माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेकामा दोषीमाथि मुद्दा चलाउनका लागि आमरण अनशनमा रहनुभएका नन्दप्रसाद अधिकारीको सोमबार मृत्यु भएको हो । आयोगका कामु सचिव वेदप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमास्व अधिकारीकी पत्नी गङ्गामायाको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएकाले जीवनरक्षाका लागि गम्भीरतापूर्वक प्रयास गर्न सरकार तथा सरोकार भएका पक्षसँग आग्रह गरिएको छ ।

न्याय प्राप्तिका लागि आमरण अनशनजस्तो कष्टकर उपाय त्यागी अन्य वैकल्पिक उपाय अपनाउन पनि आयोगले गङ्गामायासँग अनुरोध गरेको छ ।

कृष्णप्रसादको हत्या प्रकरणको अनुसन्धानपछि दोषीलाई फौजदारी अभियोगमा कारबाही चलाउन, पीडितलाई क्षतिपूर्ति, पुनःस्थापनालगायत पर्याप्त शान्ति–सुरक्षाको व्यवस्थाका लागि सरकारलाई विगतमा सिफारिस गरिसकिएको र त्यसबारे नियमित रूपमा अनुगमन गरिरहेको र आयोगका सिफारिसको समयमै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । रासस