२५ असोज, चितवन । 

 

सुरक्षित यौन जीवनका लागि चितवनमा गएको एक वर्षमा सात लाख कण्डम वितरण भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षभन्दा गएको वर्ष करिब एक लाख बढी कण्डम वितरण गरिएको हो ।

condoms

आज २०औँ राष्ट्रिय कण्डम दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम पनि भइरहेका छन् । अघिल्लो वर्ष छ लाखको हाराहारीमा कण्डम वितरण गरिएकामा यस वर्ष बढेर सात लाख पुगेको कार्यालय प्रमुख केहरसिंह गोदारले जानकारी दिनुभयो ।

अझै पनि खुला रुपमा प्रयोगकर्ताले कण्डमको माग गर्ने अवस्था नरहेको भन्दै सामाजिक सोचमा परिवर्तन आवश्यक भएको गोदारले बताउनुभयो । नेपाल परिवार नियोजन सङ्घ र मेरी स्टोप्सबाट पनि लाखौँको कण्डम वितरण भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

अस्थायी परिवार नियोजनको साधन कण्डमको प्रयोगले गर्भ रोक्नेमात्र नभई विभिन्न यौन रोग तथा एचआइभी सङ्क्रमणबाट बच्न सकिन्छ । त्यसैले कण्डमको प्रयोग अत्यावश्यक रहेको चिकित्सकहरुले बताएका छन् ।

कतिपय मानिस जानेरै पनि कण्डमको प्रयोग नगर्ने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जसका कारण रोग सर्ने जोखिम हुन्छ भने अनिच्छामा गर्भ रहने गरेको छ ।

सुरक्षित यौन जीवन र अस्थायी परिवार नियोजनको भरपर्दाे साधनका रुपमा कण्डम प्रयोग गर्न जनस्वास्थ्य कार्यालय चितवनले सर्वसाधारणमा आग्रह गरेको छ । चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस अगाडि कण्डम दिवसका अवसरमा कक्ष नै राखेर जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

सो कार्यक्रममा निःशुल्क कण्डम वितरण हुनेछ । जनस्वास्थ्य कार्यालयलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न एक दर्जनभन्दा बढी संस्थाको आयोजनामा कण्डम वितरण गरिएको हो । रासस