२७ असोज, एजेन्सी ।


इजिप्टको दक्षिणी प्रान्त आजवानमा सोमबार दुईवटा मिनिबस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ३० व्यक्तिको मृत्यु भएको छ ।

उक्त जानकारी सुरक्षा स्रोतले सोमबार दिएको समाचारमा जनाइएको छ । कायरोदेखि ९३० किलोमिटर दक्षिणमा पर्ने इद्फु इलाकानजिकै भएको यस दुर्घटनामा कम्तीमा १५ जना घाइते भएका छन् ।

bus crash accident
उच्च गतिमा सवारी साधन चलाउनु नै यस दुर्घटनाको कारण भएको प्रारम्भिक अनुसन्धानमा जनाइएको छ ।

इजिप्टमा सडकको अवस्था नाजुक र ट्राफिक नियम उलङ्घन जस्ता कारणले गर्दा सडक दुर्घटना एक साधारण घटनाको रुपमा हुने गरेको पाइन्छ ।

गत अगस्तमा पनि सिनाई प्रायद्वीप नजिकै भएको दुर्घटनामा ३१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४१ जना घाइते भएका थिए ।

विश्व स्वास्थ्य संगठनकाअनुसार इजिप्टमा वार्षिक रुपमा सडक दुर्घटनामा करिब १२ हजार व्यक्तिको मृत्यु हुने गरेको छ ।

इजिप्टमा गत वर्ष देशभरी १५ हजारभन्दा बढी सडक दुर्घटना भएको सरकारी अधिकारीद्धारा गत जुनमा प्रकाशित एक तथ्याङ्कमा जनाएका छन् । रासस,एएफपी