३० असोज, लुम्बिनी ।

राष्ट्रपति डा रामवरण यादवले दुई हजार पाँच सय वर्षअघि भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको समयमा झै अहिले पनि उहाँका शान्ति, सहिष्णुता, करुणा र भ्रातृत्वको शिक्षा र बौद्ध जीवन पद्धति उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

rambaran sambodhan samsad

विश्व बौद्ध भ्रातृत्व डब्लु एफबी सङ्घको चीनको साङ्सी प्रान्तको बाओजीमा भइरहेको २७ औं सम्मेलनको सफलताको कामना गर्दै पाठाउनुभएको सन्देशमा राष्ट्रपति डा यादवले आज विश्वभर कै मानवको सोच र कर्मलाई बुद्धका शिक्षाले प्रोत्साहित गर्दै आएको उल्लेख गरेका हुन् ।

डब्लु एफबीको चारौं र १५औँ सम्मेलन बुद्ध जन्मभूमि नेपालमा भएको स्मरण गर्दै उनले नेपाल धर्मोदय सभामार्फत एक संस्थापक सदस्यको हैसियतले यस संस्थाको पवित्र क्रियाकलापमा संलग्न रहँदै आएको बताए ।

‘बुद्धधर्म र जनकल्याणका लागि दान’ विषयक उक्त सम्मेलनलाई पठाएको उक्त सन्देशमा भनिएको छ, “लुम्बिनी विश्वभरकै बौद्धमार्गीका लागि तीर्थटन गर्ने पवित्रस्थलको रुपमा रहिआएको छ । यो विश्वभर कै पर्यटक, विद्धान र अन्वेषकका लागि पनि आकर्षणको केन्द्रको रुपमा विकास भइरहेको छ । यस सन्दर्भमा लुम्बिनीले सम्पूर्ण मानवसमाजको आध्यात्मिकस्तर र कल्याण अभिवृद्धि गर्ने भएकाले यसको विकास उच्च प्राथमिकतामा पर्न योग्य छ ।”

राष्ट्रपति डा यादवले लुम्बिनीलाई विश्व शान्ति सहरको रुपमा विकास गर्ने विषयमा पनि सम्मेलनमा छलफल हुने र आगामी दिन लुम्बिनीको विकासलाई गति दिने विषयलाई सहभागीले पूर्ण समर्थन दिने आशा पनि सन्देशमा व्यक्त गरेका छन् । रासस