काठमाडौँ । ‘वनिता’ साहित्यिक त्रैमासिकले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’को सम्मान प्रदान गरेको छ । 

satya mohan joshi

आफ्नो १६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा संस्थाले जोशीसहित कथाकार माया ठकुरीलाई देवकुमारी कथा विशिष्ट सम्मान, कवि विवश पोखरेललाई रिमाल काव्य वनिताश्री सम्मान, समालोचक प्रा डा टङ्कप्रसाद न्यौपानेलाई २०६९ सालको र डा सुधा त्रिपाठीलार्ई २०७० सालको डा नरेन्द्र चापागाईं स्मृति वनिता सम्मान, सीतारवादक विद्या मुकारुङलाई वनिताश्री सङ्गीत सम्मान, प्रा डा उषा ठाकुरलाई मातृभाषा वनिताश्री सम्मान र पहिरन प्रवत्र्तक ज्ञानीशोभा तुलाधरलाई वनिताश्री जगमाया प्रसाईं विशेष सम्मानद्वारा सम्मानित गरियो ।

 

यसैगरी रञ्जुश्री पराजुलीलाई रु १० हजारसहितको देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार, कवि उषा शेरचनलाई २०६९ साल र नवराज सुब्बालाई २०७० सालको रु पाँच हजारको व्यथित काव्य वनिता पुरस्कार, गीतकार उन्नति बोहरा शिलालाई रु पाँच हजारको वनिता साहित्य वसुश्री मधु पुरस्कार, बालप्रतिभा प्रतिस्ना केसीलाई २०६९ साल र दर्शना महर्जनलाई २०७० सालको रु पाँच हजारको जलेश्वरी बालप्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

 

कार्यक्रममा ‘जीवनका पाइलामा डा लक्खीदेवी सुन्दास’ वनिता विशेषाङ्क सार्वजनिक गर्दै संस्कृतिविद् जोशीले यस्ता पुरस्कारले नवप्रतिभालाई मार्गनिर्देश गर्ने र अगाडि ल्याउन अभिप्रेरित गर्ने काम गरेको बताउनुभयो ।

त्रैमासिकका सम्पादक लक्ष्मी उप्रेतीले आफ्नो पत्रिकाबाट हालसम्म ७०भन्दा बढी स्रष्टालाई सम्मान गरिसकिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताउनुभयो । रासस