(प्रकाश सिलवाल)

ओसाका (जापान), ५ कात्तिक । ‘डु यु लर्न इङ्लिस ?’ (तिमी अङ्ग्रेजी पढ्छौँ ?) शिक्षामन्त्री चित्रलेखा यादवले मियाकोजिमास्थित साकुरानोमिया निम्नमाध्यमिक विद्यालयका विद्यार्थीलाई सोध्दा उनीहरुले भने, ‘एस, बट वि आर नट रिच एज नेपाल, हो हामी पढ्छौँ तर नेपालको विद्यार्थी जस्तो जान्दैनौँ) ।

 

पूर्वाधार र प्रविधि तथा सीपमूलक शिक्षामा सम्पन्न जापानी विद्यालयमा विद्यार्थीलाई अङ्ग्रेजी सिकाउनु चुनौतीपूर्ण मानिएको छ । विद्यार्थीलाई मात्र होइन यहाँका सबै शिक्षकलाई पनि राम्रोसँग अङ्ग्रेजी बोल्न आउँदैन । यस अवस्थालाई चिर्न जापानले आफ्नो भाषामा मात्रै शिक्षा दिने नीतिलाई परिवर्तन गर्दै अङ्ग्रेजी माध्यम भाषालाई पनि जोड दिन थालेको छ ।

japani students

साकुरानोमिया निमाविमा कक्षा ९ मा अध्ययनरत शून्य कोहिनोले नेपालका निजी विद्यालयले कसरी फरर अङ्ग्रेजी बोल्न र लेख्न सक्छन् भन्ने जिज्ञासा नेपाली प्रतितिधिमण्डलसमक्ष राखेका थिए ।

उनीहरुले दुई देशका विद्यार्थीबीचको अनुभव आदानप्रदान कार्यक्रमका क्रममा नेपाली विद्यार्थी आफूभन्दा अङ्ग्रेजीमा पोख्त भएको थाहा पाए ।

अनुभव प्रदान कार्यक्रमका क्रममा कपनस्थित माउन्ट कैलाश विद्यालयका कक्षा १० का कर्म तेन्जिङ वाङ्देनले अङ्ग्रेजीमा हातैले लेखेर नेपालका सगरमाथा, गौतम बुद्ध र स्वयम्भूजस्ता महत्वपूर्ण विषयमा पठाएको सामग्रीलाई साकुरानामिया विद्यालयको कक्षा कोठामा टाँस गरिएको थियो ।

जापानी विद्यार्थीले आफ्नाबारेमा बनाइएका सामग्री भने जापानी भाषामा छन् । नेपालको राष्ट्रियता र संस्कृतिबारे विवरण र चित्र टाँसिएको पाइएपछि शिक्षामन्त्री यादवसहितको प्रतिनिधिमण्डल नेपालबारे जापानी विद्यार्थीको उत्सुकताबाट प्रभावित भएका थिए ।

ओसाका नगरपालिकाअन्तर्गतको मियाकोजिमा वडाका महानिर्र्देशक (अध्यक्ष) रुसेइ ताबाटाले जापानी विद्यार्थीको अङ्ग्रेजी सबल बनाउन नेपालले सघाउन सक्ने बताउनुभयो । स्पेक, जापानले विगत चार वर्षदेखि दुई देशका विद्यार्थीबीच वेभ तथा भ्रमणका माध्यमबाट अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस क्रममा उनीहरुले जापानी विद्यार्थी मोबाइलमा बढी खेल्छन् भने नेपाली विद्यार्थी क्रिकेट र टेलिभिजन हेर्नमा रमाउँछन् भन्ने निचोड निकालेका थिए । दुई देशको सरकार र नागरिकस्तरको यो सम्बन्धका आधारमा शिक्षा सुधारका लागि दुवैले थप सहयोग र योगदान दिनुपर्नेमा जोड दिइयो ।

एसियन फ्रेन्डसिप नेटवर्कको निमन्त्रणामा जापानमा सम्पन्न सो भ्रमणका क्रममा मन्त्री यादवले यहाँस्थित कोबे विश्वविद्यालय र ओटेमन गाकुन विश्वविद्यालयको भ्रमण गर्नुभएको थियो ।

कोबेमा नौ नेपाली विद्यार्थी अध्ययनरत छन् । उनीहरुले चिनियाँ र अन्य मुलुकका विद्यार्थीलाई सरह आफूहरुलाई पनि यहाँ कर छुट र छात्रवृत्तिको व्यवस्थाको पहल गर्न मन्त्री यादवसँग आग्रह गरेका थिए । दुवै विश्वविद्यालयले आफ्ना विद्यार्थी नेपालमा पढ्न चाहेमा अपनाउनुपर्ने प्रक्रियाबारे पनि चासो राखेका थिए । ओटेमन विश्वविद्यालयले अङ्ग्रेजी सिकाइलाई प्रभावकारी बनाउन अलग्गै शाखा खडा गरेको छ । सो शाखा बेलायती विशेषज्ञबाट सञ्चालन गरिएको छ ।

शिक्षा मन्त्री यादवले नेपालका ग्रामीण तथा सरकारी विद्यालयको पूर्वाधार कमजोर भएकाले सघाउन आग्रह गरेपछि एलसराइन शैक्षिक सहयोग कार्यक्रमद्वारा आयोजित विशेष समारोहमा उपस्थित जापानी समाजसेवीहरुले आगामी सन् २०१५ मा नेपालमा २५ वटा विद्यालय भवन बनाउन सघाउने प्रतिबद्धता जनाएका छन् ।

नेटवर्कद्वारा नेपालमा विगत दुई दसकदेखि जापानी स्वयम्सेवी नागरिकले सङ्कलन गर्ने रकमबाट हालसम्म करिब ८० वटा विद्यालय भवन निर्माण भइसकेका छन् । नेटवर्कका अध्यक्ष इसिमारु युजिरोले नेपालका विद्यालयमा पूर्वाधार विकासका लागि निरन्तर सहयोग गर्ने बताउनुभयो ।

टोलीलाई गैरआवासीय नेपाली सङ्घ (जापान)को कान्साई क्षेत्रका अध्यक्ष नरेन्द्र बस्नेतलगायतले स्वागत समारोह गरी नेपालमा शान्ति, संविधान र स्थिरता कायम गरी स्वदेशमा रोजगारीको अवस्थामा सुधार ल्याउन आग्रह गरेका थिए । समारोहमा नेपाल जापान चिन्तन प्रतिष्ठानका अध्यक्ष डा मनोहरलाल श्रेष्ठले नेपालले विद्यालयको पूर्वाधार विकासका साथै सीपमूलक शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

मन्त्री यादवको नेतृत्वमा गत असोज ३० गते जापान आएको सो नौ सदस्यीय प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फर्केको छ । प्रतिनिधिमण्डलमा शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्साल, शिक्षाविद् डा श्रीकृष्ण यादव, नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष मोहन ज्ञवाली, नेटवर्कका नेपाल अध्यक्ष गणेशमान लामालगायत हुनुहुन्थ्यो ।
रासस ।