११ कात्तिक, काठमाडौँ ।

MELAMCHI

मेलम्चीको पानी आगामी १ वैशाख ०७३ मा काठमाडौं ल्याउने सम्भावना क्षीण हुँदै गएको छ । परामर्शदाता कम्पनी पोरी इन्फ्रा एजीका टोलीनेता रोबर्ट स्मिथले निर्धारित समयमा मेलम्चीको पानी आइपुग्न मुस्किल देखिएको सहरी विकासमन्त्रीलाई जानकारी गराएका हुन् ।

सुरुङको निर्माणसम्बन्धी जानकारी लिन इटालीका विदेश राज्यमन्त्री बेनेडेट्टो डेल्ला भेदोभासहित सोमबार सुन्दरीजल पुगेका मन्त्री डा. नारायण खड्कालाई परामर्शदाता कम्पनीले प्रगति विवरण प्रस्तुत गरेको हो । विवरणमा भौगर्भिक अवस्था र प्राविधिक कारणले पूर्वनिर्धारित समयमा काम सक्ने सम्भावना क्षीण भएको उल्लेख छ ।

 

‘दैनिक कम्तीमा ३८ मिटर सुरुङ खनिनुपर्नेमा बढीमा २० मिटर मात्र सुरुङ खनिएकाले निर्धारित समयमा मेलम्चीको पानी काठमाडौं आइपुग्न मुस्किल देखिएको छ,’ इन्फ्रा एजीका टोलीनेता स्मिथले भने ।

 

तर, मन्त्री डा. खड्काले सुरुङको काममा अहिले देखिएका भौगर्भिक, प्राविधिक र प्रशासनिक समस्या हल गरेर समयमै पानी ल्याइपुर्‍याउने प्रयास अझै जारी रहेको बताए । उनले भने, ‘काम केही ढिला भए पनि अझै मैले आस मारिसकेको छैन, समस्याको समाधान गरेर भए पनि हामी पूर्वनिर्धारित समयमै पानी ल्याउने प्रयत्नमा छौँ ।