पेट्रोलमा दुई रुपैयाँ ४७ पैसा, डिजेल र मट्टीतेलमा एक सय ६७ पैसा प्रतिलिटर घट्यो । मंगलबारबाट उपत्यकामा पेट्रोल एक सय २८, डिजेल र मट्टीतेल एक सय एक रुपैयाँ ५० पैसामा बिक्री हुने ।

१८ कात्तिक, काठमाडौँ ।

नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले पेट्रोलमा दुई रुपैयाँ ४७ पैसा तथा डिजेल र मट्टीतेलमा एक रुपैयाँ ६७ पैसा प्रतिलिटर घटाएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

PETROL-PUMP-INJECTING-PETROL

‘सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको छ,’ उनले भने । अब पेट्रोललाई एक सय २८ रुपैयाँ तथा डिजेल र मट्टीतेललाई एक सय एक रुपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । पोखरामा ५० पैसा प्रतिलिटर र तराईका जिल्लामा एक रुपैयाँ ५० पैसा प्रतिलिटर सस्तो हुनेछ ।

 

भारतीय आयल कर्पोरेसनले सोमबार निगमलाई ‘सस्तो खरिददर’ पठाएपछि नेपाली बजारमा मूल्य समायोजन गरिएको हो । यसअघि निगमले २ कात्तिकमा पनि मूल्य घटाएको थियो । पेट्रोल, डिजेल र मट्टीतेलमा स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेकाले नेपाली बजारमा पनि घटाएको हो ।

 

निगमले आगामी १५ दिनसम्म यही मूल्यमा पेट्रोल, डिजेल र मट्टीतेल बिक्री हुने जनाएको छ । ‘आगामी १५ दिनसम्म यही मूल्यमा पेट्रोल, डिजेल र मट्टीतेल बिक्री गर्दा निगमलाई १७ करोड १५ लाख रुपैयाँ नाफा हुने अपेक्षा गरेका छौँ,’ प्रवक्ता घिमिरेले भने ।