२५ कात्तिक, जनकपुरधाम ।

भारतीय प्रधानमन्त्री र सीताराम विवाहका अवसरमा अयोध्याबाट आउने जन्तीका लागि जानकी मन्दिरलाई सिँगार्ने काम तीव्र गतिमा अघि बढाइएको छ ।

यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र सीताराम विवाहका अवसरमा अयोध्याबाट नै रामायणकालीन विवाह उत्सव झैँ सरिक हुन जन्ती आउने भएकाले मन्दिरलाई विशेष रुपले सिँगार्ने कार्य भइरहेको छ ।

नेपालको ताजमहलका नामले विख्यात जानकी मन्दिरमा यसअघि भारतीय राष्ट्रपति निलम संजिवा रेड्डी र ज्ञानी जेल सिंहको जानकी मन्दिरमा आगमन भइसकेको छ । यस पटक प्रधानमन्त्री मोदीको आगमनले यहाँका साधुसन्तलगायत मिथिलावासी उत्साहित बनेका छन् ।

narendra modi temple

मिथिला स्वयम् नै मन्दिररुपी पवित्र विशाल घर हो, जुन माटोमा माता जानकी उत्पन्न हुनु, यहाँका माटोको कणकणमा जानकीले लडिबुडी गरी बालक्रीडा गर्नु, भगवान् राम यहाँ आई शिवधनुष भङ्ग गर्नु जस्ता प्रसङ्गले वैदिककालदेखि नै मिथिलालाई दर्शनीय स्थल बनाएको जानकी मन्दिर आरम्भदेखि नै सम्मानित, पूजनीय एवम् आस्था र विश्वासका प्रतीकका रुपमा रहेको छ ।

 

अहिले यो मन्दिर नौलाखा, जानकी भवन र शशिमहल नामले पनि प्रख्यात रहेको छ ।

मुगल वास्तुशैली र हिन्दू वास्तुशैलीको अनुपम सङ्गमबाट बनेको यो मन्दिर हेर्दा वास्तुकलाकारिताको विलक्षण प्रतिभालाई उजागर गर्दछ । भगवान् रामकी अर्धाङ्गिनी सीताको सम्झनामा मिथिलाको प्राचीन राजधानी जनकपुरमा बनाइएको मन्दिरको सुन्दरता र भव्यता आफैँमा विशिष्ट रहेको छ । मिथिला शब्दलाई स्वयम्मा मोक्ष र पुण्यदायक मानिने चलन भएका कारणले पनि जानकी मन्दिरको नित्य नाम लिँदा पनि सर्वपाप नाश हुन्छ मान्यता पनि रहेको छ ।

उनानचास हजार ५५५ वर्गफिटमा फैलिएको सो मन्दिर करिब ५० फिट अग्लो छ । पूर्वतर्फ फर्किएको सो मन्दिरको शोभा चारैतिरका ठूला र साना गुम्बजहरुले सजाइएको छ भने चारैतिर विभिन्न रङ्गका रङ्गीचङ्गी फूलबुट्टाहरुबाट सिँगारिएको छ ।

यस मन्दिरमा ६० वटा कोठा रहेका छन् । यी मध्ये शशि गर्भगृह विशेष महत्वपूर्ण छन् भने मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक छ ।

चारै कुनामा तीन–तीनवटाका दरले बनाइएका बाह्रवटा कलात्मक बुर्जाका साथै अन्य साना ठूला बुर्जा र गुम्बजहरुमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर, अर्धवृत्त आकारको प्रवेशद्वार र प्रवेशद्वारको दुवैतिर र माथि बनाइएका विभिन्न चित्रहरुले मन्दिरको भव्यतालाई अझ बढाएको देखिन्छ ।

 

यस स्थानको परिचय दिने श्रेय यस मन्दिरका पहिलो महन्त सुरकिशोर दासलाई दिइन्छ । प्राचीन विदेह वा मिथिलाको राजधानी जनकपुर अहिलेको जनकपुर रहेको स्थल नै हो भनी पहिचान गराउने श्रेय पनि उनै महन्तलाई दिइन्छ ।

 

वर्तमान जानकी मन्दिर रहेको स्थानमा पहिले एउटा नीमको रुख थियो । सत्रौँ शताब्दीको अन्ततिर सोही स्थानमा ती महन्त विश्राम गर्न सुतेका थिए । उनलाई त्यसै बखत सपनामा देवी सीताले यसै स्थानमा आफ्नो पिताको दरबार रहेको थियो भनेर बताएको जनश्रुति पाइन्छ । त्यसपछि महन्तले त्यस स्थानमा एक झुपडी बनाई पूजाआजा गर्न थाले । यिनकै समयदेखि यसको ख्याति बढ्न थाल्यो र मानिसहरु घनाजङ्गलभित्र रहेको स्थानमा पूर्णिमा तथा पवित्र पर्वहरुको अवसरमा यहाँ आई स्नान र पूजाआजा गरी फर्कन्थे ।

 

त्यस समयमा बाघ, भालुजस्ता जङ्गली पशुको निकै डर रहने भए पनि मानिसहरु अस्त्रशस्त्र लिई यस स्थानमा मेला भर्न आउँथे ।

अन्वेषक नारायण रिमालका अनुसार महन्त सुरकिशोर दास वस्तुतः आधुनिक जनकपुरको संस्थापक र सीताको उपासना पद्धतिका प्रचारक, महान् सन्त एवम् कवि थिए ।

यी महन्तपछि यहाँ उनकै शिष्य प्रयाग दास महन्त भए । यस ठाउँको ख्याति सुनेर मकवानपुरका राजा मणिकसेनले विसं १७८४ मा एक हजार ४०० बिगाहा सीतारामको भोगरागका लागि जमिन दान गरेका थिए ।

यस्तै विसं १७९० साल फागुन ७ गतेका दिन हेमकर्णसेनले जग्गाको सिमाना गुठी थामिदिएको र नेपालको एकीकरणपछि पृथ्वीनारायण शाहले सो जग्गा कुशविर्ताकै रुपमा उपलब्ध गराएको विसं १८६७ को गीर्वाणयुद्ध वीरविक्रम शाहको लालमोहरमा उल्लेख छ ।

यसै लालमोहरबाट गीर्वाणयुद्ध विक्रम शाहले विर्ता पक्का ठहराई चार किल्लाको सिमाना तोकी लालमोहर ताम्रपत्र गरी जानकीको नित्य पूजा गरी सदाव्रत चलाई शिष्य परम्पराअनुसार भोग गर्ने आदेश दिएको बताइन्छ । यसै आदेशबाट राजगुठीअन्तर्गत पूर्णरुपमा स्वतन्त्र भई गुरु–शिष्य परम्परा रहेको र सञ्चालन व्यवस्थापनको जिम्मा महन्तमा रहेको देखिन्छ ।

सो मन्दिरको निर्माणको सन्दर्भमा स्थानीय किंवदन्ती अनुसार भारतका टिकमगढका एक राजा यस क्षेत्रतर्फ सिकार खेल्न आएका बखत यहाँको ख्याति सुनी आफ्नी रानीलाई लिई एकदिन तीर्थ गर्न भनी यहाँ आए । ती राजा निःसन्तान थिए । यिनकी रानीले पुत्र प्राप्त गरेमा रु नौ लाख लगाई एक भव्य मन्दिर बनाउने बाचा गरिन् ।

 

कालान्तरमा रानीलाई पुत्र प्राप्त भयो र उनले रु नौ लाख लगाई यो मन्दिर निर्माण गराएका कारण यो मन्दिर नौलाखा मन्दिरका नामले पनि चिनिन्छ ।

सहप्राध्यापक शिवेन्द्रलाल कर्ण सो मन्दिरको निर्माण टिकमगढका राजा नरेशप्रताप सिंह र उनकी पत्नी वृषभानु कुँवरीले गराएका र मन्दिर पूरा हुन १२ वर्ष लागेको बताउनुहुन्छ ।

मन्दिरमा रहेको शिलालेखअनुसार सो मन्दिरको शिलान्यास विसं १९५२ माघ २८ गते र मूर्तिप्रतिष्ठा विसं १९६७ माघ २८ गते भएको हो ।

मूर्तिको प्रतिष्ठाको अवसरमा महारानी वृषभानुको मृत्यु भइसकेकाले दोस्रो महारानी गणेश कँुवरीको सहभागिता रहेको पाइन्छ ।

हिन्दू वाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वास्तु, भवन, इमारतलाई सबभन्दा उत्तम दर्जाको एकाइमा भन्नुपर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरेकाले पनि नौ लाखा भनिएको हुन सक्ने तर्क सहप्राध्यापक कर्ण अघि सार्नुहुन्छ ।

उहाँका अनुसार यस मन्दिरको निर्माण त्यस बेलाका बेलायती महारानीका चाँदीका सिक्काहरु रु तीन चार लाख खर्च भएको थियो ।

अन्वेषक रिमाल यो मन्दिर बनाउन रु नौ लाख सङ्कल्प गरिए पनि करिब रु १५ लाख खर्च भएको बताउनुहुन्छ ।

यस मन्दिरमा प्रत्येक धार्मिक पर्वहरु विशेष गरेर विवाहपञ्चमी, रामनवमी, झुलन पर्व, जानकीनवमी, कोजाग्रत पूर्णिमा र अन्नकुट धुमधामका साथ मनाइन्छ । यी पर्वहरुमा देशविदेशका असङ्ख्य श्रद्धालुहरुको सहभागिता हुने गरेको छ ।

मन्दिरको शिलालेखअनुसार सो मन्दिरका महन्तहरुमा सुरकिशोर दास, प्रयाग दास, जनकविदेही दास, हरिनारायण दास, बलराम दास, सुमरन दास, विश्वम्भर दास, रामगुलेला दास, नरसिंह दास, हरिभजन दास, रामकृष्ण दास, नवलकिशोर दास र रामशरण दासले मन्दिरको गुरुशिष्य परम्परालाई निरन्तरता दिएको पाइन्छ ।

महन्त रामतपेश्वर दास भारतीय प्रधानमन्त्रीले स्वयम् जानकी मन्दिरको दर्शन र पूजापाठ गर्ने भावना व्यक्त गर्नुभएकाले मिथिलावासीलगायत साधुसन्त उहाँको आगमनको व्यग्रतापूर्वक प्रतीक्षामा रहेको बताउनुहुन्छ । रासस