८ मंसिर, झापा ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले माघ ८ भित्र संविधान जारी नभए नेपालको राजनीतिक परिस्थिति ठूला दलको नियन्त्रणबाहिर जाने टिप्पणी गरेका छन् । उनले समयमै संविधान निर्माण गर्न तीन ठूला दल गम्भीर नभएको आरोप पनि लगाए ।

kamal-thapa mic

मेची अञ्चलका पहाडी जिल्लाको भ्रमण सकेर राजधानी फर्किनुअघि झापाको विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थाापाले सो कुरा बताएका हुन् ।

 

संविधान निर्माण प्रक्रिया भाँड्ने प्रयत्न भए आफूले अर्काे विकल्प खोज्ने चेतावनी दिंदै अध्यक्ष थापाले विधि, प्रक्रिया अनुसार निर्णय भए आफ्ना एजेण्डा स्थापित नभए पनि संविधान मान्ने बताए ।

 

सहमति हुन नसकेका विषयलाई जनमत सङ्ग्रहमार्फत टुङ्ग्याउनु सबैभन्दा वुद्धिमानी हुने बताउँदै थापाले बहुमतबाट पेलेर जाने प्रयत्न भए मुलुक फेरी द्वन्द्वमा फस्ने चेतावनी दिए ।

 

पार्टीको एउटा समूहले राजीनामा मागेको विषयमा टिप्पणी गर्दै अध्यक्ष थापाले त्यसलाई केटाकेटीपनको संज्ञा दिए । उनले लावती समूहले अर्काे पार्टी बनाए पनि आफ्नो अभियानमा कुनै असर नपर्ने दावी गरेका छन् ।