१६ मङ्सिर, विर्तामोड ।

नेकपा एमालेका केन्द्रीय सदस्य शङ्कर पोखरेलले एकीकृत नेकपा माओवादीलाई संविधान निर्माणको दायराभन्दा बाहिर जान नदिनकै लागि एमालेले विज्ञ सम्मिलित आयोगको प्रस्ताव गरेको बताएका छन् । उनले संविधानसभाको शक्ति संरचना सहमतिका उपयुक्त नभएकाले माओवादीलाई समेट्नकै लागि सङ्घीय विवाद समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञ सम्मिलित आयोगको प्रस्ताव गरेको बताए ।

shankar-pokhrel

एमाले प्रचार विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले पूर्व सचिव पोखरेलले संविधानसभामा पूर्ण सहमतिको कुरा असम्भव हुने बताएका हुन् ।

 

संविधान निर्माणका प्रत्येक विधेयक निर्वाचन प्रक्रियाद्वारा टुङ्ग्याउने अन्तरिम संविधानको अनिवार्य व्यवस्थाविरुद्ध एकीकृत नेकपा माओवादीले २२ दलीय मोर्चाका नाममा गरिरहेको गतिविधिप्रति टिप्पणी गर्दै एमाले नेता पोखरेलले काङ्ग्रेस एमालेको प्रस्ताव संविधानसरह भएको जिकिर गरे ।

 

२२ दलीय मोर्चा संविधान नबनाउने सोचबाट प्रभावित भइरहेको भन्दै एमाले नेता पोखरेलले आफ्नो कात्तिक १५ को घोषणाबाट एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पछि हट्नुमा गम्भीर आंशका रहेको बताए ।

 

२२ दलीय मोर्चा, संवैधानिक समिति र मधेशवादी दलका क्रियाकलाप संविधानसभा असफल पार्ने प्रयत्नबाट अघि बढेको भन्दै पोखरेलले माघ ८ मा संविधान बनाउन एमाले सरकार छोड्न समेत तयार रहेको बताए ।