१७ मंसिर, काठमाडौ ।

सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले माघ ८ गते संविधान जारी गर्ने सर्तमा सहमतिको लागि राष्ट्रिय सरकार बनाउन नेपाली काँग्रेस तयार रहेको स्पष्ट पारेका छन ।

minendra rijaal

बुधवार राजधानीमा आयोजित साक्षात्कारमा उनले नेकपा एमाले र नेपाली काँग्रेसवीच सात बुँदे सम्झौता हुने वित्तिकै पनि सहमतिको सरकारको लागि आब्हान गरेको स्मरण गर्दै अहिले पनि संविधानमा सबैको स्वामित्व बोध गराउन सहमतिको सरकार बनाउन आफूहरु तयार रहेको स्पष्ट पारे ।

 

उनले भने– ‘‘हाम्रो लागि सरकार भन्दा पनि संविधान प्राथमिकता हो, सुशील कोइरालाको नेतृत्वमा माघ ८ गतेभित्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिन एमाओवादी र मधेशवादी दललाई समेत सरकारमा ल्याउन तयार छौं ।’’

 

बाबुराममाथि शंका

मन्त्री रिजालले कुनै पनि बहानामा माघ ८ को डेडलाईन सार्न नहुने भन्दै त्यो समयसीमा भित्र रहेर नयाँ प्रस्ताव ल्याउन र छलफल गर्न आग्रह गरे ।

उनले भने–‘‘अझै आठ÷दशवटा चरणहरु बाँकी छन । यस्तो महत्वपूर्ण बेलामा संविधानसभालाई बन्धक बनाउने काम भएको छ । कतै पहिलो संविधानसभाको जेठ २ कै दिन दोहोर्याउन डा बाबुराम भट्टराई लागेका त छैनन भन्ने आशंका उत्पन्न भएको छ । ’’

 

दुई तिहाई बहुमतसहित सहमतिको लागि साझा प्रस्ताव ल्याएको दावी गर्दै त्यती हुँदा हुँदै पनि आफूहरु अहिले पनि सहमतिमै संविधान जारी गर्ने पक्षमा रहेको ठोकुवा गरे । उनले भने–‘‘हाम्रो साझा धारणाले सहमति गर्न अझै सजिलो भएको छ ।

 

चीन नजिकको होइन 

आफूलाई चीनको रुझान भनि गरेको टिप्पणीको खण्डन गर्न आवश्यक नरहेको भन्दै उनले कसैको आरोपको पछि लाग्न नसक्ने स्पष्ट पारे । उनले भने–‘हिजो विधार्थी राजनीतिमा पनि हामीलाई यस्ता खाले आरोपहरु लाग्ने गरेका थिए, तर सार्वजनिक जीवनमा भएकाले यस्ता खाले आरोपहरुको खण्डन गर्न जरुरी छैन । म कसैको पक्ष भन्दा पनि नेपाली र नेपालको पक्षमा काम गर्ने व्यक्ति हुँ ।’’

 

क्लबका अध्यक्ष ऋषि धमलाले राजनीतिक दलहरुले माघ ८ गतेको समयसिमाभित्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा सकारात्मक भएको स्पष्ट पारेका छन् ।

 

उनले भने–‘‘माघ ८ गतेको समयसिमा फेरि सार्ने काम भयो भने संविधान नबनाउने षडयन्त्र हुन्छ, त्यसैले सबै दल सचेत हुन जरुरी छ ।’’