१९ मङ्सिर, काठमाडौं । 

संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आफ्नो प्रतिवेदन संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाएको छ । समितिका सभापति डाक्टर बाबुराम भट्टराईले कांग्रेस एमालेका फरक मत सहितको प्रतिवेदन सभाध्यक्ष नेम्वाङलाइ आज बुझाएका हुन् ।

4 party meeting 1

प्रतिवेदन आउँदो संविधानसभा बैठकमा प्रस्तुत गरिने छ । समितिले प्रतिवेदन बुझाएपछि संबिधान सभा अध्यक्षले यही आइतवार संबिधान सभा बैठक बोलाउने तयारी गरेका छन् ।

सत्तारुढ दलहरुले विवादित विषयमा लिखित धारणा पेश गरेपछि संवाद समितिभित्र एक महिनायता देखिएको गतिरोध हटाउन भन्दै प्रमुख दलहरुले भट्टराईलाई प्रतिवेदन बुझाउन अधिकार दिएका थिए ।

प्रतिवेदन संविधान सभामा गएपनि त्यसमाथिको छलफलको प्रक्रियाका बारे भने दलहरु बीच सहमति भइसकेको छैन । राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता विषयमा विभाजित रहँदै आएका प्रमुख दलहरु आ–आफ्नो अडानमा रहेका कारण पूर्व निर्धारित माघ ८ गतेको मितिमा संविधान जारी हुनेमा आशंका बढेको छ । कार्यतालिका अनुसार संविधान जारी गर्न अब करिब डेढ महिना मात्रै बाँकी छ ।