हेडलाइन टिप्पणी ।

हुन त नेपाल कुनै देशको उपनिवेश होइन । अहिले सम्म नेपाल कहिले पनि पराधिन हुनु परेको छैन । तर विडम्बना भन्नु पर्छ यहाँका शासक वर्षको मानसिकता भने सांच्चिकै औपनिवेशिक मानसिकताबाट ग्रस्त छ । जुनकुरा समय समयमा साह्रै भद्धा ढंगले सतहमा आउँछ । पछिल्लो पटक यस्तो मानसिकता उजागर भएको हो मोदीलाई विषय बनाएर ब्यङ्ग गरिएको टेलिसिरियल ‘तितोसत्य’ को एपिसोडको प्रशारण रोकिएको घटनाबाट । नेपाल टेलिभिजनबाट प्रसारण हुने यो सिरियलको एपिसोड सेन्सर शाखाको निर्देशनमा रोकिएको बताइएको छ । नेपाल टेलिभिजनको यो चर्चित सिरियलको एक एपिसोड रोकिनु त्यति ठूलो विषय नहुन सक्छ तर जसरी र जुन कारण देखाएर यो रोकियो त्यो भने वास्तवमै महत्वपूर्ण घटना हो । यसले नेपालमा कतिपयले भन्ने गरेको जस्तो मोदीकरणको रिहर्सल शुरु भएको जस्तो झल्को समेत दिएको छ ।

SAARC Inaguration Ceremony   18

 

मोदी आफैलाई नेपालको टेलिभिजनमा उनको विषयमा के आउँछ र त्यसको कुनै प्रभाव हुन्छ भन्ने विश्वास छ वा छैन तर नेपालमा भने उनीप्रति अनौठो भक्ति देखा परेको पुष्टी यो काण्डले गरेको छ । नेपालमा कुनै पनि विषयमा सभ्य ब्यङ्ग गर्न कुनै पनि कानूनी अड्चन छैन । भारतमै पनि मोदीको विषयमा अनेक खाले कार्टुन र ब्यङ्ग हुने गरेका छन् । तर हाम्रो देशको राष्ट्रिय टेलिभिजनले भने मोदी भक्ति कायम राख्नका लागि उनको विषय रहेको सिरियल रोकेर औपनिवेशिक मानसिकताको निकृष्ठ नमूना प्रस्तुत गरेको छ जुन स्तरको भक्ति सायद मोदी आफै पनि चाँहदैनन् होला ।

 

के भने दिपक राज गिरीले ?
यो टेलिसिरियलका निर्माता दिपक राज गिरीले नेपाल लोकतान्त्रिक मुलुकमा जो कसैलाई ब्यङ्ग गर्न पाइने भन्दै सिरिलय प्रसारण गर्न आग्रह गरेपनि नेपाल टिभीका सेन्सर साखाका कर्मचारीले उनलाई वास्तै गरेनन् । दिपकराज गिरीले खासमा यो सिरियलमा मोदीमाथि कुनै ब्यङ्ग समेत नभएको स्पष्टीकरण दिएका छन् । दिपकराज गिरीले फेसबुकमा लेखेका छन् । ‘तीतो सत्यको श्रृंखला मोदीको नक्कल गरिएको कारण देखाइ प्रसारणमा रोक लगाइएको छ । भारतमा नै मोदी लगायत नेताहरूको मज्जाले क्यारिकेचर गरिन्छ, लोकतन्त्रको सुन्दरता नै यहि हो जस्मा हरेक प्रसिद्ध ब्यक्तिको नक्कल वा व्यड़ग्य गर्न पाइन्छ । दिपकले भनेका छन् ‘हाम्रो देशमा सम्मान होइन चाकडि बिक्छ, लोकतन्त्र कागजमा होइन ब्यबहारमा हुनु पर्छ । संबाद हिन्दी भयो पनि भनियो, मोदीको अभिनय गर्दा शायद भाषा चाइनिज हुन सक्दैन… सम्मान गरौं चाकडि होइन ।’

Deepak Raj Giri on Modi Tito Satya

जता पनि मोदी

शुक्रबार राजधानीबाट प्रकाशित एक साप्ताहिकले प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग डा. सशांक कोइरालालाई कांग्रेसको सभापति र देशको प्रधानमन्त्री बनाउन सहयोग मागेको तथ्य खुलेको खबर छापेको छ । सार्क शिखर सम्मेलनको समयमा प्रधानमन्त्री कोइरालाले बालुवाटारको आफ्नो निवास छोडी दुई रात सोल्टी होटलमै बिताएको र त्यसक्रममा सोल्टी होटलमै बसेका मोदीसँग एक्लै भेटी सशांकका लागि याचना गरेको खबर प्राप्त भएको उक्त साप्ताहिकमा उल्लेख छ । समाचारमा जनाइए अनुसार कोइरालाले राति मोदीको स्वीट रुममा पुगेर बीपी कोइरालासँगै आफूहरु भारत प्रवासमा रहँदा कंग्रेस आई र इन्दिरा गान्धीले निकै दुःख दिएको स्मरण गराएका थिए । साप्ताहिकलाई विश्वास गर्ने हो भने कोइरालाले मोदीसँग गरेको कुरा पनि निक्कै तल्लो स्तरको देखिन्छ । उनले भनेका छन् ‘इन्दिराले धेरै दुःख दिइन् । तपाईहरु सत्तामा आउनुहँदा हामीलाई धेरै खुसी लागेको छ । सशांकलाई सभापति र प्रधानमन्त्री बनाउन सहयोग गरिदिनुभए म आभारी हुने थिँए ।’ साप्ताहिकले कोइरालाको कुरा सुनेर मोदी मुसुमुसु हाँसेको तर कुनै ठोस जवाफ नदिएको भनेको छ ।

 

यो पनि हेर्नुस् 

मोदी भाषणका डरलाग्दा संकेत

 

 

घटना र विचारको समाचारका अनुसार मोदी कोइरालाको आग्रहमा जसरी हाँसे सायद नेपाल टेलिभिजनमा आफ्नो विषय सम्बन्धि सिरियल नै रोकिएको थाहा पाउँदा यसै गरी हास्छन् होला । यो एउटा दृष्टान्त मात्र हो नेपाली शासकहरुको मानसिकता उजागर गर्ने । आफ्नो देश र जनताबाट मत पाएर देशकै बागडोर हातमा हुनेको अवस्था त यस्तो छ भने सत्तामा पुग्ने सपना मात्र देख्नेहरु के के गर्दा हुन् समीक्षाको विषय हुन सक्छ ।

देशकै नेतालाई जति गाली गर्दा चाँहि ‘ओके’

नेपाल टेलिभिजनमा पछिल्लो समय तीतो सत्य मात्र होइन अन्य थुप्रै यस्ता सिरियल चर्चामा छन् । र नेपालको ब्यङ्गको प्राण नै राजनीतिक ब्यङ्ग हो । देशमा लामो संक्रमणकालको कारण होला नेपाली ब्यङ्गमा जतासुकै राजनीतिको मात्र गन्ध आउँछ । नेपाल टेलिभिजनबाट प्रसारण हुने यी ब्यङ्ग सिरियलहरुको प्रमुख तारो बनिरहेका हुन्छन् नेपाली नेताहरु । अधिकाँश सिरियलमा शीर्ष नेताहरुको दुरुस्तै क्यारिकेचर गरिन्छ र दर्शक हसाउँने कोशिस गरिन्छ । यस्तो ब्यङ्गबाट प्रधानमन्त्री देखि विपक्षी दलका नेता र सभामुख समेत बँचेका छैनन् । देशमा राजतन्त्र छँदै समेत मनोज गजुरेलले तत्कालीन राजा ज्ञानेन्द्र शाहको दुरुस्तै क्यारिकेचर गरेर कैयौं कार्यक्रममा दर्शकको ताली पाएका थिए । तर अनौठो कुरा नेपाली नेताहरुलाई मर्ने गरी गाली गरेर प्रसारित हुने सिरियलमा कुनै पनि चित्त नदुखाउने नेपाल टेलिभिजनको सेन्सर साखालाई शक्तिशाली छिमेकी देशका प्रधानमन्त्रीमाथि ब्यङ्ग हुन लाग्दा भने चित्त दुखेछ र यसलाई रोकिदियो । भारतमा मोदी र अमेरिकामा ओबामाको समेत ब्यङ्ग गरिन्छ । तर लोकतन्त्रिक हाम्रो मुलुकमा मोदीमाथिको ब्यङ्ग भएकै कारण देखाएर सिरियल नै रोकिनुले हाम्रोमा रहेको लोकतन्त्र निर्देशित लोकतन्त्रको तहमा मात्र सीमित भएको पुष्टी भएको छ ।

 

यो पनि हेर्नुस् 
मोदीको नाममा नाङ्गिएको नेपाली कुटनीति