काठमाडौं । 

एकीकृत माओवादीमा वर्षौं देखि पार्टी नेतृत्वमा दावी गर्दै आएका डा बाबुराम भट्टराई अन्ततः अध्यक्ष बन्ने संघारमा पुगेका छन् । पार्टीलाई सँधै राजनीतिक नेतृत्व दिएका भएपनि आफ्नो नीति अर्कैको नेतृत्व गुनासो गर्दै आएका बाबुरामलाई नेतृत्व दिन प्रचण्ड तयार भएका छन् । पार्टीलाई भर्चुअल दुई धारमा विभाजन गरेर एउटा बैचारिक र अर्को सांगठनिक नेतृत्वमा रहेको देखाउने सहमति प्रचण्ड र बाबुरामबीच भएको चर्चा छ । संविधानसभाको दोश्रोचुनावमा भएको अप्रत्यासित हारपछि यसै पनि पार्टीभित्रै दवावमा परिरहेका प्रचण्ड कसै गरेपनि पार्टी बचाउन नसकिने निष्कर्षमा पुगेर बाबुरामलाई नेतृत्व दिन तयार भएको बताइन्छ । यद्यपी प्रचण्ड भद्र सहमति अनुसार पार्टी नेतृत्व हस्तान्तरण गर्न तयार नभए नयाँ पार्टी घोषणा गर्ने तयारीमा समेत बाबुराम रहेको श्रोत बताउँछ । विप्लवले त पार्टी फुटाउन सके भने हामी के कम भनेर बाबुराम पक्षका नेताहरु अव बाबुराम अध्यक्ष बन्ने भन्दै हौसिएका छन् भने प्रचण्ड पक्षका नेताहरुमा अन्यौल देखिएको छ । श्रोतका अनुसार बाबुराम प्रस्तावित विशेष महाधिवेशनपछि प्रचण्डकै प्रस्तावमा पार्टीको अध्यक्ष बन्नेछन् । 

prachana-baburam
संविधानसभाको दोश्रो निर्वाचनमा पराजयपछि हारको दोष प्रचण्डलाई दिँदै बाबुरामले घुमाउरो शैलीमा पार्टीको पुनर्गठनको नाममा पार्टीमा नेतृत्व दावी गर्दै आएका हुन् । शान्ति प्रक्रियामा आएपछि प्रचण्ड सबैभन्दा असफल भएको यो अवस्था नै बाबुरामले वर्षौं देखि चाहाना राखेको नेतृत्वमा दावी गर्ने उपयुक्त मौका थियो र त्यही गरे पनि । तर प्रचण्डले उनलाई टार्दै गए र विराटनगर विशेष भेलामा समेत बाबुरामले बाहिस्कार गरेर हिँड्ने अवस्था बन्यो । प्रचण्डले पार्टीमा आफ्नो बर्चस्व जोगाउन बिराटनगरबाट फर्किएपछि उम्मेदवारी नै नदिएका बाबुराम देखि उनी पक्षीय सीमित नेताहरुलाई केन्द्रिय समिति देखि पोलिटब्युरो र पदाधिकारी सम्म जिताए । प्रचण्डले साइजमा राखेर स्पेस दिने नीतिबाट बाक्क भएका बाबुराम नयाँ शक्तिको कुरा गरेर एक पटक निक्कै चर्चामा आए । पार्टी फुटाउने तयारीमा पुगेपनि त्यो त्यति अनुकुल नदेखिएपछि पार्टीलाई नै नयाँ शक्ति बनाउने दावी गर्दै आएका बाबुराम संबैधानिक समितिको सभापतिकोरुपमा भने केही शक्तिशाली बन्न पुगे । जसरी पनि संविधान ल्याउने नीतिमा पार्टीलाई कायम राख्न मुख्य भूमिका खेलेका उनले अहिले आएर नेतृत्वमा हिस्सा पाउने अवस्थामा ल्याइपुर्‍याएका हुन् ।

Prachanda sitting on sofa

के गर्छन् प्रचण्ड ?
एमाओवादीमा प्रचण्डको स्थान रुसमा भ्लादिमिर पुटिनको जस्तो नै हो । प्रचण्ड पुटिन जस्तै अरुलाई राष्ट्रपति बनाएर प्रधानमन्त्री पनि बन्न सक्छन् पुनः राष्ट्रपतिमा पनि फर्किन सक्ने क्षमता पनि राख्छन् । संविधानसभाको राजनीतिक समितिमा बाबुरामलाई सभापति बनाउँदा होस् वा विगतमा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा होस प्रचण्डले बाबुरामलाई आफूले नै शक्तिशाली बनाएको पुष्टी गरेर पनि आफूसँग शक्ति सँधै कायम राख्न सफल देखिएका छन् । बाबुराम पार्टी अध्यक्ष भएपछि पनि प्रचण्डलाई पार्टीमा प्रथम नेता नै बनाइराख्ने बाबुराम निकटका नेताहरुको तयारी छ । प्रचण्डलाई राष्ट्रपति बनाउने र पार्टीको १ नम्बर नेताकोरुपमा पनि कायमै राख्ने तर बाबुरामलाई पार्टी अध्यक्ष बनाउने अनौठो खालको रणनीतिमा बाबुराम समूह रहेको बताइन्छ । यद्यपी प्रचण्ड आफै र प्रचण्डपक्षका नेताहरु प्रचण्डलाई ‘केवल नेता’ कोरुपमा पार्टीमा स्वीकार्न पूर्णरुपमा तयार छैनन् । तरपनि बाबुरामलाई पार्टीको अध्यक्षकोरुपमा केही समयका लागि भएपनि स्वीकार गर्ने बाध्यात्मक मनस्थितिमा उनीहरु समेत रहेको बताइन्छ ।

विप्लवले पार्टी फुटाउँदा बाबुराम शक्तिशाली

बाबुराम भट्टराई र भर्खरैमात्र बैद्य माओवादीबाट सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी घोषणा गरेका नेत्र विक्रम चन्द विप्लवबीच अनौठो खालको सम्बन्ध छ । उनीहरु सैद्धान्तिकरुपमा फरक ध्रुवमा रहेको जस्तो देखिन्छ तर पनि बाबुराम र विप्लवबीच एक प्रकारको सुमधुर सम्बन्ध रहँदै आएको छ । विप्लवले पार्टी फुटाएपछि यस अघि बैद्यसँग प्रचण्ड नजिक हुँदा टाउको दुख्नु पर्ने बाबुरामको आत्मविश्वास बढेको छ । यसैपनि बैद्य समूहलाई जडशुत्रवादी झुण्डकोरुपमा बुझ्ने बाबुराम पक्षधरहरु बरु विप्लवलाई क्रान्तिकारी मान्न तयार छन् । राष्ट्रिय अन्तराष्ट्रिय शक्ति सन्तुलन र क्रान्तिमा मध्यम वर्गको भूमिकाका विषयमा विप्लवको लाइन बाबुरामकै लाइन भएको दावी समेत बाबुराम पक्षीय नेताले गरेका छन् ।

Prachanda Perish Dada 2

कसैले पनि नजित्ने अवस्था

एमाओवादीको आन्तरिक राजनीति अहिले युद्धकालमा मा‌ओवादी र सरकारबीचको जस्तै अवस्थामा छ । प्रचण्डले न त पार्टीलाई एकलौटी बनाएर पूर्ण नेतृत्व बनाएर जान सके नत बाबुरामले नै बैकल्पिक निर्विकल्प नेतृत्वकोरुपमा उँभ्याउन सके । यसकै कारण प्रचण्ड र बाबुराम अव शक्ति बाँडफाँडको अवस्थामा पुगेका हुन् । प्रचण्ड स्वभावैले अरुको नेतृत्वमा बस्न सक्ने मान्छे होइनन् । २०६२ कात्तिकमा रुकुमको चुनवाङमा भएको बैठकमा प्रचण्ड र बाबुरामबीच वैचारिक र सांगठनिक रूपमा नेतृत्व साझेदारी भएको थियो । त्यसबेला प्रचण्डले पार्टी र सेना तथा बाबुरामले जनसत्ताको कमाण्ड सम्हालेका थिए । राष्ट्रिय राजनीतिमा समेत उनीसँग हाँच मिलाउने नेतृत्वको अभाव भैरहेको समयमा पार्टी भित्र बाबुरामले उनलाई हाराहारी धक्का दिन सक्दैनन् नै । तर पनि प्रचण्डले पार्टी जोगाउन अव आफ्नो इगो साइजमा राख्न बाध्य हुने अवस्था आएको विश्लेषण गरिएको छ । बाबुरामले मान्दै नमान्ने र प्रचण्डले छोड्न नसक्ने अवस्थाले एमाओवादीको आन्तरिक राजनीति पनि देशकै जस्तो संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको हो । सायद यदी अवस्थालाई चिर्नका लागि प्रचण्ड बाबुरामलाई भर्चुअल नेतृत्व दिन तयार भएको विश्लेषकहरुको अनुमान छ ।