२४ मङ्सिर, काठमाडौ ।

उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले सङ्गठित अपराध गम्भीर समस्याका रुपमा रहेको र नेपाल त्यसको ट्रान्जिट प्वाइन्ट भएको भन्ने आरोपलाई निरर्थक सावित गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।

 

नेपाल प्रहरीको अनुसन्धान विभागको ५९ औँ अपराध अनुसन्धान दिवसको अवसरमा आज नेपाल पुलिस क्लबमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले हामीलाई लाग्ने सबैखाले आरोपबाट मुक्त हुने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको उल्लेख गरे ।

Bamdev Gauta-1

कानुनको पालना गर्ने, अपराधीलाई पक्रने र न्याय दिने काममा प्रहरीले खेलेको भूमिकाको कहीँकतैबाट प्रशंसा नगर्ने प्रवृत्ति अन्त्य हुन आवश्यक रहेको बताउँदै गृह मन्त्री गौतमले भने, “अपराधको अनुसन्धान, अपराधी पक्रने, कानुनको संरक्षण र कानुन कार्यान्वयन गराउने संस्थाको रुपमा नेपाल प्रहरी रहेको छ ।”

 

अपराध अनुसन्धान विभागलाई स्तरन्नति गरी विश्वविद्यालय बनाउनुपर्छ भन्ने आफ्नो सोच रहेको बताउँदै मन्त्री गौतमले अपराधीसँग लागेर संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने व्यक्तिलाई खोजी खोजी कारबाही गर्न सङ्गठन प्रमुखलाई निर्देशन दिए ।

 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले अनुसन्धानको पाटोमा मानवीय संवेदनशीलता बुझेर काम गर्न सुझाव दिँदै अपराध पुनरावृत्ति हुने होइन न्यून हुनुपर्छ भन्ने मान्यताका साथ काम गर्न नेपाल प्रहरीलाई सुझाव दिए ।

 

राष्ट्रिय महिला आयोगका अध्यक्ष शेषचाँद ताराले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको समयमा राजधानीमा छुरा प्रहारबाट एक युवतीको हत्या हुनुले प्रहरीको जिम्मेवारीलाई चुनौती दिएको धारणा राखिन् ।

गृहमन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले सरकारले प्रहरीको अपराध अनुसन्धानको तीनवर्षे कार्ययोजनालाई पारित गरिसकेकाले अपराध अनुसन्धान, जनशक्ति विस्तार र वैज्ञानिक अनुसन्धानका पाटोमा यो कोसेढुङ्गा सावित हुने धारणा राखे ।

 

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले फौजदारी न्यायप्रणालीको आधार स्तम्भका रुपमा रहेको अपराध अनुसन्धानलाई वस्तुनिष्ठ र वैज्ञानिक बनाउने काममा नेपाल प्रहरीले कोशीस गरीरहेको बताए ।

 

उनले भने, “अपराध अनुसन्धानमा रहेको व्यक्तिलाई थुनिदिनुपर्‍यो, छोडिदिनुपर्‍यो भन्ने दबाब धेरै आउने गरेको भए पनि अनुसन्धान गरिदिनुपर्‍यो भन्नेको सङ्ख्या ज्यादै न्यून रहेको छ ।”

 

प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा रहेको विभागअन्र्तगत मुलुकभर १९८ वटा शाखा छन् ।

 

अपराधसम्बन्धी तालिम गर्न नेपाल प्रहरीले अपराध अनुसन्धान विद्यालय सञ्चालन गरेको छ । प्रहरीले अपराध अनुसन्धानलाई वस्तुनिष्ठ तुल्याउने क्रममा वैज्ञानिक अनुसन्धान, कुकुरको प्रयोग, पोलियोग्राफी मेसिनको प्रयोग गर्दै आएको छ ।

 

प्रहरीमा सो विभागअन्तर्गत तीन हजार ९५६ जनशक्ति रहेका छन् । ‘वस्तुनिष्ठ अनुसन्धान मानवअधिकारको सम्मान’ भन्ने नाराका साथ यस वर्षको अपराध अनुसन्धान दिवस मनाइएको छ ।

 

नागरिकको जीउधनको सुरक्षाको जिम्मेवारी पाएको प्रहरीको मुख्य काम पनि अपराध अनुसन्धान र नियन्त्रण हो । मुलुकभर पछिल्लो समय हत्यासम्बन्धी अपराधमा कमी देखिए पनि जबर्जस्ती करणी र आत्महत्याका घटना बढ्दै गएको सो अवसरमा जानकारी दिइयो ।

सो अवसरमा मन्त्री गौतमले विभागद्वारा प्रकाशित ‘सिआइडी’ नामक स्मारिका विमोचन गर्नुका साथै विभागको बेवसाइटको समेत शुभारम्भ गरेका थिए । रासस