२ पुस, प्यूठान ।

“जनयुद्ध हुँदै जनसत्ता ल्याउने भनेका थियौँ”–निरास मुद्रामा देखिँदै नेकपा–माओवादीका सचिव देव गुरुङले भने–“कुनै समयको मोहन विक्रमको मसाल पार्टीको जस्तै हालत भयो ।”

दिनभरको पार्टी प्रशिक्षण सकेर सोमबार साँझपख आफ्नै पार्टी अध्यक्ष मोहन वैद्यको गृह जिल्ला प्यूठानमा उनले भने -“सोचेभन्दा कमजोर भएछौँ ।” नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको समेत गृह जिल्ला रहेको यहाँ उनले÷पटक सिंहलाई सम्झँदै उहाँको पार्टी विभाजन र आफ्नो पार्टी विभाजन उस्तै–उस्तै भएको समेत बताए ।

Dev-gurung

“जनयुद्धका उपलब्धिलाई बिर्सेर प्रचण्ड, बाबुराम उतै हराउनुभयो”–एनेकपा माओवादीलाई हालसम्मका सबै गल्तीको कारण देखाउँदै उनले भने–“पदमा बार्गेनिङ नमिलेपछि विप्लव समूहले पार्टी फुटाए ।” आफूहरुले जनयुद्धको जगमा क्रान्ति गर्ने भन्दै एमाओवादीसँग विभाजन भएको दिनलाई सङ्केत गर्दै उनले पार्टी विभाजन भएपछि सबै समूह सोचेभन्दा कमजोर भएको बताए ।

कार्यकर्ता प्रशिक्षणमा जनयुद्धका घटना र विभाजनबाट निरास नहुन आग्रह गर्नुभएका सचिव गुरुङले भने–“सबै कमजोर भयौँ, अब त कार्यकर्ताले नै एकताका लागि दबाब दिनुस् ।”

स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलामा दिनभर झन्डै ५० जनाभन्दा धेरै कार्यकर्तालाई प्रशिक्षण दिँदा आदर्श र पार्टी योजनाबारे प्रशिक्षणका कुरा गरेका सचिव गुरुङले साँझपख जिल्लाका सीमित र अग्रज कार्यकर्तासँग खुलेर कुरा गर्दा निरासासँगै पीडा सार्वजनिक गर्दै कमजोर–कमजोर एक हुने समय आएको समेत बताए । “एमाओवादीले जनयुद्धका मुद्दालाई सम्बोधन गर्ने र नेत्रविक्रम चन्द ‘विप्लव’ले पदको लोभ त्याग गरे पार्टी एकता हुन्छ”–उनले भने “अब सबै माओवादीको एकताबिना केही पनि सम्भव छैन ।”

यसैबीच सचिव गुरुङले माघ ८ मा संविधान नबन्ने बताउनु भएको छ । क्रान्तिकारी पत्रकार महासङ्घ प्यूठानले बुधबार बिजुवारमा गरेको पत्रकारसम्मेलनमा उनले सत्तापक्षको आन्तरिक विवादका कारण नै संबिधान नबन्ने बताए । “सत्ता पक्षले विपक्षलाई मिलाउन नसक्ने पक्का छ”–उनले भने–“सत्ता साझेदार दल काँग्रेस र एमाले बीचमा सरकार बदल्ने भन्दै आन्तरिक विवाद सुरु भइसकेको छ ।”

जनताले जनपक्षीय संबिधानलाई मात्र मान्ने भन्दै उहाँले अहिले कुनै कारणवश संविधान आए पनि त्यसलाई स्वयम् जनताले नमान्ने दाबी गरे । अर्को एक प्रसङ्गमा उनले आफूहरुले एमाओवादी र विप्लवको माओवादीमा नभई उनीहरु आफ्नो पार्टीमा समाहित हुन आउनुपर्ने जिकिरसमेत गरे । रासस