मिर्गौला बेचेर ऋण तिर्दै काभ्रेपलाञ्चोकका जनता

युवराज पाण्डे । ८ पुस, बनेपा । 

काभ्रेपलाञ्चोक जिल्लामा अझै पनि मिर्गौला तस्करी रोकिएको छैन । दलालले मिर्गौला बेच्न महिलालाई श्रीमती भएको कागज बनाउने र काठमाडौँमा रगत जाँचेर घुम्ने बहानामा महिलालाई भारत लगेर मिर्गौलाको तस्करी भइरहेको स्थानीयवासीले जनाएका छन् । उनीहरुले भनेका छन्, दलालले ठूलो कमिसन पाउने भएकाले गाउँका विपन्न वर्ग र ऋणमा डुबेकालाई फकाएर लैजाने गरेको पाइएको छ ।

kidney kidney

जिल्लाको मेथिनकोटकी एक ३५ वर्षकी गृहिणीले कात्तिक अन्तिमसाता भारतमा गएर आफ्नो एउटा मिर्गाैला रु तीन लाख ७५ हजारमा बेचेर आइन् । दुई सन्तानकी आमा उनले वैदेशिक रोजगारका क्रममा दुई वर्षअघि मलेसियामा श्रीमान्को मृत्यु भएपछि ऋण तिर्न मिर्गौला बेचेकी बताएकी छिन् ।

रु चार लाख ऋण थियो, खेतबारीबाट आम्दानी छैन, तिर्ने उपाय नभएपछि बेचेकी हुँ, उनले भनिन् । श्रीमान् विदेश जाँदा र त्यसपछि लागेको ऋण तिर्न आफ्नो शरीरको संवेदनशील अङ्ग बेचेको उनले निर्धक्क बताइन् । उनको मिर्गौला निकाल्दा चिरेको पेटमा प्लास्टिक सर्जरी गरी पठाएकाले उनलाई कसैले शङ्का गर्ने ठाउँ पनि छैन ।

फूलबारीका तीनजना युवाले एकैसाथ गत साउनमा मिर्गौला बेचेर फर्किएका छन् । उनीहरुले जनही रु दुई लाख पाएको स्थानीय प्रकाश तिमल्सिनाले बताए । तिमल्सिनाका अनुसार ती युवाको पनि मिर्गौला निकाल्दा चिरेको पेटमा प्लास्टिक सर्जरी गरिएको छ ।

मिर्गौला बेचेर आएपछि शरीरमा ठूलो घाउ–खत हुँदा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हट्ने भएपछि विपन्न वर्गका मानिसले मिर्गौला बेच्न हौसिएको पाइएको छ । होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सातजनाले मिर्गौला बेचेपछि दुई वर्षअघि गाउँ नै छाडेका थिए ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले तस्करीमा मिर्गौला बेच्नेकै संलग्नता हुनसक्ने देखिएकाले उनीहरुको पनि आन्तरिक अनुसन्धान भइरहेको उल्लेख गर्दै उनीहरुले सहयोग गरे तस्करीको जालो तोड्न सकिन्छ भन्नुभयो । उहाँले तुलनात्मक रुपमा पहिले भन्दा मिर्गौला बेचबिखन कार्य रोकिएको जिकिर गर्नुभयो ।

केही वर्षअघि ‘बैंक अफ किड्नी’ भनेर देश–विदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकमा २० वर्षअघिदेखि मिर्गौला बेचबिखन भएको पाइएको छ ।

सुरुमा काभ्रेपलाञ्चोकको होक्से र ज्याम्दी गाविसका करिब १०८ जनाले मात्रै मिर्गौला बेचेको अनुमानित तथ्याङ्क छ तर अहिले त्यसबाट जिल्लाका १० गाविस प्रभावित भएको अनुमान छ ।

मिर्गौला बेच्ने क्रम नरोकिएपछि जिल्लास्थित जनअधिकार संरक्षण मञ्च (पिपिआर)ले मिर्गौला बेच्नेको तथ्याङ्क सङ्कलन तथा उनीहरुको अवस्थाबारे अनुगमन गरिरहेको छ ।

प्रारम्भिक अनुगमनमा काभे्रका ३०० जनाले मिर्गौला बेचेको पाइएको पिपिआरका निर्देशक सतिस शर्माले जानकारी दिनुभयो । उहाँले हामी मिर्गौलासँगै मानव तस्करी कति र कसरी भइरहेको छ, अनुगमन गर्दैछौँ भन्नुभयो ।

पिपिआरको हालसम्मको अनुगमनमा होक्सेमा ११२ जना, पाँचखालमा १०२ जना र ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला बेचेको तथ्याङ्कमा देखिएको छ । यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर छ ।

उजुरीपछि २०७० वैशाखमा मिर्गौला तस्करीमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकले पक्रेपछि यहाँबाट केही समय मिर्गौला तस्करी रोकिएको थियो । लगत्तै जेठमा तस्करमध्येका सातजनालाई प्रहरीले पुर्पक्षका लागि थुनामा राखेको छ ।

मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई लाखदेखि रु पाँच लाखसम्म जरिवाना सजाय हुन्छ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानुनी व्यवस्था छ । रासस