१ जेठ, कालिकोट।

कालिकोटमा हिजो बेलुकी भएको झडपमा घाईते भएका एक जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकाको शेरापाँटा केन्द्रको मतपेटिका जलाउने क्रममा घाईते भएका राप्रपाका वडा अध्यक्षका उम्मेदवार धनरु बटलाको गएराती मृत्यु भएको हो ।

तर नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले भने पार्टीको योजना अनुसारनै बटलाले उम्मेदवारी दिएकाले आफ्ना कार्यकर्ताको ज्यान गएको बताएका छन् ।

मतदान सम्पन्न भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदान केन्द्र कब्जामा लिएर आगजनी गरेका थिए । आगजनीपछि नरहरिनाथ गाउँ पालिकाको शेरापाँटा मतदान केन्द्रको मतदान स्थागित भएको छ ।

झडपका क्रममा प्रहरीले गोली चलाएको थियो । झडपमा घाईते भएका चार जनालाई बिहान नेपाली सेनाले उपचारका लागि सदरमुकाम मान्ममा ल्याएको छ । नरहरिनाथमा खटिएका कर्मचारी नारायण शर्माले अहिले पनि मतपेटिका सुरक्षित रहे नरहेको जानकारीमा आउन नसकेको बताएका छन् ।

झडपपछि आफूहरु ज्यान जोगाउन भागेको र मुख्य निर्वाचन अधिकृत सहितका कर्मचारीहरु सम्पर्कमा आइनसकेको बताए । घटनास्थलमा पुग्न अझै ३, ४ घण्टा लाग्ने उनको भनाई छ ।