२ माघ, रुपन्देही । 

रुपन्देहीको दक्षिण गाविस मानमटेरीयाका थारू महिलालाई यतिबेला भ्याइनभ्याई छ । केही महिनाअघिसम्म घरकै काममा मात्रै रमाउँदै आएका ती थारू महिला अहिले भने फरक काममा रमाउन थालेका छन् ।

मानमटेरिया गाविसमा बसोवास गर्ने मध्ये २२ जना थारू महिला आम्दानीको नयाँ स्रोतको खोजी गर्दै व्यावसायिक च्याउखेतीमा जुटेका छन् ।

रुपन्देहीका अधिकांश किसान च्याउखेतीतिर आकर्षित भएको थाहा पाएपछि उनीहरू पनि घरको कामलाई छिटोछरितो रूपमा सिध्याएर व्यावसायिक च्याउखेतीतर्फ जुट्ने गर्दछन् ।

chyau kheti

कम लगानी र छोटो समयमा राम्रो आम्दानी हुने गरेकाले आफूहरू च्याउखेतीमा आकर्षित भएको उनीहरूको भनाइ छ ।

महिलाले च्याउखेतीका लागि भनेर स्वावलम्बन महिला बचत समूहसमेत खोलेका छन् । त्यही समूहबाट बीउबिजन ल्याउने, सीप सिक्ने र बजारमा लगेर बिक्री वितरण गर्ने गरेको समूहका अध्यक्ष लक्ष्मी चौधरीले जानकारी दिनुभयो ।

उहाँले मानमटेरिया गाविसभित्र तीनवटा घरलाई भाडामा लिएर व्यावसायिक रूपमा च्याउखेती गर्न लागेको बताउनुभयो ।

अध्यक्ष चौधरीका अनुसार महिलाले गरेको श्रमदान र बीउबिजन तथा घर भाडाका लागि १२ हजार खर्चिएकामा रु ४६ हजार आम्दानी गरेका छन् । महिलाले उत्पादन गरेको च्याउ महिला नै मिलेर पालैपालो बिक्रीका लागि विभिन्न ठाउँमा पुग्ने गर्दछन् ।

थारू समुदायको बाहुल्यता रहेको यस गाउँका महिला साइकल र ढकियामा च्याउ राखेर घर–घरमा बिक्री गर्नका लागि पुग्ने गरेको अध्यक्ष चौधरीको भनाइ छ ।

त्यस क्षेत्रका अधिकांशले खानका लागि आफ्नै घरमा च्याउ बनाउने भएकाले बिक्रीका लागि छपिया, सेमरी, बहुली, दयानगर, मानपकडीलगायतका स्थानमा पुग्ने गरेको उनीहरूको भनाइ छ । महिलाले च्याउखेतीबाट गरेको आम्दानीलाई समाजमा हुने अन्य काममा लगानीसमेत गर्दै आएका छन् ।

च्याउको मूल्य प्रतिकिलो रु २०० देखि २५० सम्म पर्ने महिलाले बताए । त्यस्तै जिल्लाका अधिकांश किसान च्याउखतीमा आकर्षित भएका छन् । किसान व्यावसायिक रुपमै च्याउखेतीमा लागेका हुन् ।

कृषि कार्यालयले दिएको जानकारीअनुसार काठमाडाँैलगायतका स्थानबाट उन्नत् जातको बीउबिजन खोजेर कृषकले च्याउखेतीलाई व्यावसायिक बनाउन थालेका हुन् ।

उत्पादन गर्न सके भनेको मोलमा बेच्न सकिने, खेतीका लागि बाहिरी जमिन नचाहिने र जिल्लामै बीउ तथा निःशुल्क प्राविधिक सीप पाइने भएकाले पनि च्याउखेतीतर्फ किसानको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लाको मानमटरिया, चिल्हिया, पड्सरी, मानपकडी, बुटवल, भैरहवा, देवदह, खैरेनी, करहीया, शङ्करनगर, पर्रोहा, सालझण्डी, हाटिबनगाइ, सैनामैनालगायतका ठाउँमा बढी मात्रामा च्याउको उत्पादन गर्ने गरिन्छ ।

कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले गत वर्षदेखि व्यावसायिक रूपमा खेती गर्न थालिएको च्याउको बीउमात्रै यसवर्ष २० हजार पोकाभन्दा बढी वितरण गरिएको जानकारी दिनुभयो ।

बीस हार पोकाबाट झन्डै ८० हजार किलो च्याउ उत्पादन हुने गर्दछ । उहाँले जिल्ला कृषि विकास कार्यालयले व्यावसायिक च्याउखेतीका लागि ४० जना युवालाई ४० हजारका दरले अनुदान दिएको बताउनुभयो ।

च्याउखेतीका लागि जिविस, नगरपालिका, गाविस तथा विभिन्न गैरसरकारी सङ्घसंस्थाले पनि सहयोग गरेकाले जिल्लामा च्याउखेती निकै फस्टाएको उहाँको भनाइ छ ।

यस वर्षसम्म च्याउले बजार पाए पनि यही रफ्तारमा च्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भए अर्को वर्षपछि च्याउको बजारीकरणमा समस्या आउन सक्ने बताउँदै प्रमुख अधिकारीले च्याउको सुप बनाउने मेसिन, च्याउको सुकुटी बनाउने प्रविधि भित्र्याउनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको च्याउलाई विदेश पठाउन सकेमात्रै पनि ठूलो आर्थिक उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

घरमा खान एक दुई पोका बनाउने कृषकले च्याउको बजार राम्रो पाएपछि निर्धक्क साथ च्याउखेतीतर्फ लागेका छन् । च्याउखेतीतर्फ कृषक आकर्षित भएपछि जिल्ला कृषि विकास कार्यालयले कृषकलाई निःशुल्क रूपमा तालिमसमेत दिन थालेको छ ।

कृषि विकास कार्यालयले यसवर्षमात्रै २०० भन्दा बढी किसानलाई निःशुल्क रूपमा च्याउखेती तालिम दिएको छ । रुपन्देहीमा बढी मात्रामा कन्ये च्याउको खेती हुने गरेको कृषकको भनाइ छ ।

कन्ये च्याउको मूल्य प्रतिकेजी रु २५० देखि ३०० सम्म पर्ने गर्दछ । कृषि कार्यालयबाट कात्तिकदेखि चैतसम्म मौसमअनुसारको खेती हुने रुपन्देहीमा एक मौसममा करिब ८० मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि कार्यालयले जनाएको छ ।

रुपन्देहीमा उत्पादित च्याउ रुपन्देहीका विभिन्न क्षेत्रसहित बाहिरी जिल्लामा समेत खपत हुने गरेको छ । दीपक घिमिरे, रासस