१४ माघ, काठमाडौ । 

मेगा बैंकको रु दुई करोड नौ लाख ९० हजारबराबरको रकम ठगी प्रकरणका मुख्य योजनाकार मेगा बैंकका धादिङ शाखाका तत्कालीन प्रबन्धक राजेन्द्र पाण्डेले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

बैंक ठगी प्रकरणपछि जापानमा रहेका पाण्डे नेपाल आई आज प्रहरी समक्ष आत्मसमर्पण गरेको महानगरीय अपराध महाशाखका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पुस्कर कार्कीले जानकारी दिए ।

प्रहरीको समन्वयमै पाण्डेले आत्मसमर्पण गरेको कार्कीले बताए । उनले भने, “नेपाल आएर आत्मसमर्पण नगरे इन्टरपोलमार्फत पक्रेर ल्याउँछौं भनेर पाण्डेका परिवारलाई भनेका थियो, उनको परिवारले प्रहरीसँग समन्वय गरी नेपाल बोलाई आत्मसमर्पण गराएका हुन् ।”

money

पाण्डेलाई आजै जिल्ला प्रशासन कार्यालयमा लगि थप अनुसन्धानका लागि म्याद थप गरी ल्याइएको छ । धादिङ सलाङ गाविस–६ का २६ वर्षीय पाण्डेले आफ्ना दुई भाइ प्रवीण र प्रदीप पाण्डेलाई नक्कली निक्षेपकर्ता बनाएर खाता खोली बैंक ठगी गरेका थिए ।

अभियुक्तमध्ये अन्य तीन जना लमजुङ गाउँसहरका ४९ वर्षीय शम्भुबहादुर थापा, धादिङ सलाङका २४ वर्षीय प्रवीण तामाङ र प्रदीप पाण्डेलाई गत शुक्रबार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

अभियुक्तले टुरिज्म डेभलपमेन्ट बैंकको मेगा बैंकमा रहेको खाताबाट २०७१ माघ १२ गते मेगा बैंकको नयाँ सडक शाखाबाट रु नौ लाख ९० हजार र माघ १३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट दुई करोड रुपैँया चेक क्लियरिङको माध्यमबाट ठगी गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले पाण्डे दाजुभाइको काठमाडौँको गोङ्गबुस्थित कोठाबाट यही माघ ७ गते धमिराले खाएको अवस्थाको नगद रु १० लाख १५ हजार ५०० बरामद गरेको थियो । यस्तै माघ ८ गते धादिङस्थित निजको घर खोपीमा माटोले टालेको अवस्थामा तथा बारीमा गाडिएको अवस्थामा सडेगलेको अवस्थामा रहेका गन्न नसकिने नोटका बन्डलसमेत प्रहरीले फेला परेको थियो । रासस