केपी शर्मा ओली एमाले अध्यक्ष

राजनीतिक काममा सर्वाधिक व्यस्त एमाले अध्यक्ष केपी शर्मा ओलीसँग इमेल र इन्टरनेट सम्पर्कको समय थोरै मात्र छ । उनको फेसबुक एकाउन्ट र ट्विटर पनि छ । तर, उनी आफैँ त्यसलाई अपडेट गर्न भ्याउँदैनन् । ओलीको स्वीकृति लिएर उनको निजी सचिवालयका सदस्यले फेसबुक र ट्विटर अपडेट गर्छन् । त्यसमा प्राय: ओली सहभागी भएका कार्यक्रम र त्यस सम्बन्धित तस्बिर समावेश हुने गरेका छन् ।

Oli Prachanda phone

ओली बिहान केहीबेर पत्रपत्रिका पढ्ने गर्छन् । त्यसलगत्तै उनको भेटघाट, वार्ता र अन्य राजनीतिक काम सुरु हुन्छ । दिनभर राजनीतिक काममा व्यस्त भए पनि ओली बेलुकी केहीबेर भने इन्टरनेट एक्सेसमा हुन्छन् । बेलुकी उनी आफैँ फेसबुक र ट्विटर खोल्छन् र हेर्छन् मात्र, अनि अनलाइन समाचार साइट पनि ।

 

oli iphone

मोबाइल भने उनको टेलिफोनका लागि मात्रै प्रयोग हुन्छ । कहिलेकाहीँ म्यासेज पठाउने काम पनि गर्छन् । तर, फुर्सद नै नभएपछि उनी मोबाइलले दिने अन्य सुविधा उपयोग गर्न असमर्थ भएका हुन् । ओली आफ्ना सहयोगीलाई काम लाग्ने सूचना डाउनलोड गर्न लगाउँछन् । सूचना प्रविधिको प्रयोगमार्फत इतिहास, भूगोल, दर्शन, राजनीति र अन्य जानकारी संकलन गर्नुपर्ने ओलीको भनाइ छ । उनले आफ्ना सभासद्लाई संसदीय दलको बैठकमा बोलाएर सञ्चार प्रविधिको उपयोग गर्न निर्देशन नै दिएका थिए । सञ्चार प्रविधिको उपयोगबारे एमाले संसदीय दलले सभासद्लाई तालिम नै दिएको थियो ।

एमाओवादी नेता

राजनीतिक कार्यमा सबैभन्दा बढी व्यस्त देखिने पूर्वप्रधानमन्त्री एवम् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सूचना प्रविधिसँग धेरै नजिक छन् । उनले आइफोन र आइप्याडको प्रयोग गर्दै आएका छन् ।

उनले आइफोनमा अनलाइन चेक गर्छन् । उनी प्राय: अनलाइन गाडीमा भएका वेला चेक गर्छन् । घरमा भएका वेला आइप्याडमा अनलाइन, इमेल र सोसल मिडिया चेक गर्छन् । छोटो इमेल गर्नुपरे उनले आइप्याडबाटै गर्छन् । आइप्याडमा नेट चलाउँदा वाइफाइ प्रयोग गर्छन् ।

Prachanda phone

उनी कम्युटर भने कम प्रयोग गर्छन् । केही लेख्नुपरे नोटबुकमा लेख्छन् । सहयोगीले कम्प्युटरमा टाइप गरिदिन्छन् । सूचना प्रविधिको प्रयोगमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अगाडि छन् । उनले पनि आइफोन, आइप्याड र ल्यापटप प्रयोग गर्छन् ।

सामाजिक सञ्जालमा भट्टराई अघि छन् । उनी फेसबुक लाइक पेज र ट्विटर प्रयोग गर्छन् । उनले विभिन्न विषयमा आफ्ना धारणा सोसल मिडियाबाट पनि राख्छन् । उनको फेसबुक पेज ७ लाख ९३ हजार २६ ले लाइक गरेका छन् । नेपालका राजनीतिक नेतामा यो सबैभन्दा धेरै हो ।

Baburam-Bhattarai-Twitter

‘उहाँ सोसल मिडिया आफैँ प्रयोग गर्नुहुन्छ, थोरै फुर्सद भयो कि सोसल मिडिया चेक गरिहाल्नुहुन्छ,’ सहयोगी सनिप क्षेत्रीले भने । भट्टराई लेख लेख्नुपरे कम्प्युटरमै लेख्छन् ।

एमाओवादीका अर्का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रविधिको अधिकतम प्रयोग गर्दै आएका छन् । उनी फेसबुकमा नियमित अपडेट भइराख्छन् ।

‘फेसबुकमा जे लेख्नुपर्ने हो आफैं लेख्छु,’ उनी भन्छन्, ‘प्रविधिले गर्दा धेरै साथीसँग एकैसाथ साक्षात्कार गर्न पाइएको छ ।’ ‘प्रविधिको सही सदुपयोग गर्दा सबैलाई फाइदा छ,’ एमाओवादी महासचिव कृष्णबहादुर महराले भने, ‘यसको दुरुपयोग पनि भइरहेको छ । दुरुपयोग हुनु राम्रो होइन ।’ उनले प्रविधिका कारण पार्टीको काम कारबाही अगाडि बढाउन सहज भएको बताए ।

 

अर्जुननरसिंह केसी केन्द्रीय सदस्य, कांग्रेस

arjun narsingh kc

फुर्सद हुँदा आइफोनमा इन्टरनेट चलाउँछु । मेल चेक गर्न र सामाजिक सञ्जाल चलाउन मोबाइलमा थ्रिजी प्रयोग गर्छु । इमेल र मेसेजको सकेसम्म रिप्लाई गर्छु । फेसबुक, ट्विटर नियमित चलाउँछु । ट्विटर हेर्छु मात्र । फेसबुकमा आफ्ना कुरा पनि राख्छु । वेबसाइट पनि छ । सकेसम्म आफैँ अपडेट गर्छु । नत्र सहयोगीलाई लगाउँछु । वेबसाइटमा आफ्नै लेख, रचना र वक्तव्य राख्ने गरेको छु ।

 

समय मिलाउन गाह्रो हुन्छ, तर पनि मोबाइलको थ्रिजीमार्फत गाडीमा गुड्दागुड्दै इन्टरनेट चलाइरहेको हुन्छु । ट्राफिक जाममा फस्दा नेट चलाउँछु । बेलुकी ९ बजेपछि एक–डेढ घन्टा मेल चेक गर्ने, सामाजिक सञ्जाल हेर्ने, लाइक र कमेन्ट्स गर्ने गर्छु । काठमाडौंबाहिर हुँदा पनि इन्टरनेटको पहुँचमा हुने प्रयास गर्छु ।

 

सामाजिक सञ्जाल जनप्रिय भएर गएको छ । यसलाई सदुपयोग गर्नु आवश्यक छ । तर, दुरुपयोग पनि हुँदै आएको छ । सामाजिक सञ्जालमा नेताहरूलाई धेरै गाली गरिएको पाइन्छ । नेता भएपछि स्वस्थ गाली सुन्न तयार हुनुपर्छ । प्रयोगकर्ताले पनि सभ्य ढंगले नेताका गल्ती औँल्याउनुपर्छ ।

न्युज पोर्टल पनि खोल्छु । नेपाली–अंग्रेजी दुवै पोर्टल हेर्छु । मोबाइलमा अटोमेटिक न्युज आउने बनाएको छु । दलीय मिटिङमा कुनै विषयमा जानकारी लिनपरे तत्काल गुगलबाट हेर्छु । संघीयता, शासकीय स्वरूपजस्ता विषयमा कुन देशको कस्तो स्वरूप छ बैठकस्थलबाटै हेर्न मोबाइलको इन्टरनेटले सहयोग पुर्‍याएको छ । मेडिसिन, हर्बल, विभिन्न दर्शन, इतिहास, राजनीति, भूगोलजस्ता विषयमा जानकारी लिन विभिन्न प्रविधि प्रयोग गर्छु । नेपालीमा टाइप गर्न सक्दिनँ । अंगेजीबाटै धेरै कुरा खोज्ने र जान्ने गर्छु । खासगरी अन्योल भएका विषयबारे तत्काल थाहा पाउन इन्टरनेटले धेरै सहयोग पुर्‍याएको छ । मिलेसम्म घरमा ल्यापटप, डेक्सटपबाट पनि चलाउँछु ।

अहिले सूचना प्रविधिको युग छ । तर, सबै नेता प्रविधिमैत्री छैनन् । यस्तो हुनु शिक्षा पद्धतिको दोष हो । म शिक्षामन्त्री भइसकेको मान्छे, तर धेरैपछि मात्र प्रविधिबारेमा जानकारी पाएँ । तर, अहिले अवस्था बदलिएको छ । प्रविधि सर्वसुलभ भएको छ ।

नयाँ पत्रिका दैनिकबाट साभार