२१ माघ, काठमाडौँ । 

सार्क शिखर सम्मेलन हुनु केही दिनअघिदेखि बन्द हुँदै आएको रत्नपार्क फागुनदेखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । पुनःसंरचना तथा मर्मत सम्भार गर्न भन्दै सर्वसाधारणका लागि निषेध गरिएको रत्नपार्क आउँदो फागुन अन्तिम सातादेखि खुल्ला गरिने काठमाडौँ महानगरपालिकाका विभागीय प्रमुख शान्ताराम पोखरेलले जानकारी दिए ।

महानगरपालिकाले सुरु गरेको सार्क लक्षित ‘हरियाली काठमाडौं’ अभियानअन्तर्गत रत्नपार्क र खुल्लामञ्चलगायतका खुल्ला ठाउँमा सरसफाइ तथा पुनःसंरचना गर्ने कामलाई निरन्तरता दिँदै आएको छ ।

ratna-park

वेरोजगारहरुको जमघट हुने ठाउँको रुपमा भन्दा पनि घुमफिरका लागि आउने बालबालिकाका लागि खुल्ला गरिने उनको भनाइ छ । रत्नपार्कलाई कसरी सञ्चालन गर्ने भन्नेबारे कार्यविधि निर्देशिका बनाएर मात्र खुल्ला गरिने उनले बताए ।

त्यसैगरी, सार्क सम्मेलन सुरु हुने बेलामा पुनःसंरचना गरिएको राष्ट्रिय सभागृह पनि विभिन्न मन्त्रालयका प्रतिनिधि सहितको निर्देशक समिति बनाएर महानगरपालिकाले नै सञ्चालन गर्ने तयारी भइरहेको विभागीय प्रमुख पोखरेलले जनकारी दिए ।

‘हरियाली काठमाडौँ’ अभियानअन्तर्गत महानगरपालिकाले गत साउन महिनादेखि गैरकानुनी रुपमा फोहर फाल्ने, विज्ञापन तथा प्रचार सामग्री टाँसेर सहरी सुन्दरता बिगार्ने, सानातिना किराना पसल, खाजा घर, सवारी साधन खरिद बिक्री गर्ने संस्था, शैक्षिक परामर्शदाता, अस्पताल तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने आयोजक र फलफूल तथा जुसका व्यापारीलाई कारबाहीसमेत गर्दै आएको छ । रासस