५ फागुन, एजेन्सी । 

एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले स्कटल्याण्डलाई तीन विकेटले हराएको छ । न्युजिल्याण्डको डुनेडिनस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ्ग गरेको स्कटल्याण्डले कमजोर प्रदर्शन गर्दै घरेलु टोली न्युजिल्याण्ड सामु १ सय ४३ रनको सामान्य चुनौति पेस गरेको थियो । न्युजिल्याण्डले उक्त चुनौति २४ ओभर ५ बल खेल्दै पूरा गर्‍यो ।

Scottland vs New Zealnd

लक्ष्य पूरा गर्न न्युजिल्याण्डले सात विकेट गुमायो । न्युजिल्याण्डका बलरहरुसामु सुरुदेखि नैं संघर्षरत स्कटल्याण्डले ३७ औं ओभरमा अलआउट हुनुपुर्व १ सय ४२ रन मात्रै जोड्न सक्यो । स्कटल्याण्डको लागि म्याट माचनले ५६ रन तथा रिची बेरीङ्टनले ५० रनको योगदान दिए । स्कटल्याण्डका ५ जना व्याट्सम्यानहरु रनको खाता खोल्न नपाउँदै पभेलियन फर्किएका थिए ।

स्कटल्याण्डलाई सस्तैमा समेट्न बलीङतर्फ न्युजिल्याण्डका ड्यानिएल भिटोरी र कोरे एन्डर्सनले तीन तीन विकेट लिए । जारी प्रतियोगितामा घरेलु टोली न्युजिल्याण्डको यो दोस्रो खेल हो भने स्कटल्याण्डको पहिलो खेल हो ।

आईसीसीको एसोसिएट सदस्य राष्ट्र स्कटल्याण्डले आठ वर्षपछि विश्वकप क्रिकेट खेलिरहेको हो ।

यसअघि सन् १९९९ र २००७ मा स्कटल्याण्डले विश्वकपमा खेलेको थियो । यता, न्युजिल्याण्डले भने जारी प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस श्रीलंकालाई ९८ रनले पराजित गरेको थियो । यसअघि, हिजो भएको खेलमा वेष्ट इन्डिजलाई ४ विकेटले पराजित गर्दै आयरल्याण्डले सुखद सुरुवात गरेको छ ।