५ फागुन, चितवन । 

चितवनमा कार्यरत बालरोग बिशेषज्ञ डा नारायणबहादुर थापालाई अपहरण गरी बन्धक बनाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर ८ का घनश्याम पौडेल, नुवाकोट विदुर नगरपालिका वार्ड नम्बर ९ का सचिन भनिने सखम खवास, सुनसरी धरान नगरपालिका वार्ड नम्बर १५ बस्ने जुने लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

भरतपुर उकालोमा रहेको होटल आइसल्याण्ड जंगल रिसोर्टको कोठा नम्बर १ सय ४मा तिस लाख रुपैया मागिरहेको अवस्थामा डाक्टरलाई उद्धार गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । डाक्टरलाई थापालाई बन्धक बनाएको कोठामा खवास र लिम्बुलाई संगै प्रहरीले समातेको हो ।

अनुसन्धानका क्रममा घनश्याम पौडेलको समेत संलग्नता पाइएपछि प्रहरीले उनलाई समेत हिरासतमा राखेको छ ।डाक्टर थापा विरुद्ध चैनपुर ३ बस्ने रिता पुरीले नाता कायम गरी पाउ भनि दायर गरेको मुद्धा विचाराधिन अवस्थामा रहेको बेला मुद्धा फिर्ता गराइदिने बहनामा डाक्टरलाई बन्धक बनाएका हुन् ।

चितवन प्रहरी प्रमुख सहकुल बहादुर थापाले सुचनाका आधारमा अपहरणमा संलग्नहरुलाई पक्राउ गरीएको जानकारी दिनुभयो ।उहाले रिता पुरीले ५० लाख रुपैया पाए नाता कायम गरी पाउ भनि अदालतमा दिएको मुद्धा फिर्ता गर्ने योजना अनुसार घटना घटेको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।

डाक्टर थापा र पुरीविचको अवैद्य सम्बन्ध रहेको प्रहरी अनुसन्धानले देखाएको छ । छोराको हत्या गरी पुरी हाल कर्तव्य ज्यान मुद्यामा ०७० कार्तिक २१ गतेदेखि पुर्पक्षको लागि भरतपुर कारागारमा छिन् । पुरीले डा थापासंग नाता कायम गरी पाउ भनि जिल्ला अदालतमा दायर गरेको मुद्धा विचाराधिन छ ।

अभियुक्तहरुले पुरीलाई कारागारमै भेट गरी अपहरणको योजना बनाएको देखिएको छ । नारायणि सामुदायिक अस्पतालमा कार्यरत डाक्टर थापाले मुद्धा फिर्ता हुने आशमा १३ लाख ७५ हजार अभियुक्तहरुलाई बुझाइसकेका छन् ।पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राख्न चितवन जिल्ला अदालतबाट पहिलोपटक १० दिनको म्याद थपी अनुसन्धान कार्य भैरहेको छ ।

पक्राउ परेकाहरुलाई ७ वर्षदेखि १५ वर्ष सम्म कैद र ५० हजार देखि २ लाख सम्म हुन सक्नेछ । संगठित रुपमा अपहरण गरी बनधक बनाएकाले थप २ वर्ष सजाय हुन सक्ने जनाइएको छ । चितवनमा केहि वर्ष पहिले क्यान्सर अस्पतालका डाक्टर भक्तमान श्रेष्ठ समेत अपहरणमा परेका थिए ।