६ फागुन, चितवन ।
चितवनको माडी नगरपालिका धोवाहा खादरटोलका एक व्यक्तिको गैडाको आक्रमणवाट आज मृत्यु भएको छ । माडी प्रहरीका अनुसार खादरटोलका अन्दाजी ४५ वर्षका विफला महतोको मृत्यु भएको हो ।

मिस्त्री काम गरेर जीवन गुजारा गर्दै आएका विपन्न परिवारका महतो विहान शौचका लागि घरनजिकै खेतमा गएको समयमा गैडाले आक्रमण गरेको स्थानीयले वताएका छन् । उनको शरिर क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

उनका तीनछोरी दुई छोरा र श्रीमती रहेका छन् । यसअघि पनि माडीमा गैडा तथा हात्तीको आक्रमणवाट कैयन व्यक्तिको ज्यान गईसकेको छ । निकुन्ज नजिकको वस्ती भएको कारण माडीबासीले जंगली जनावरवाट सास्ती खेप्दै आईरहेका छन् ।

जंगल जनावरको आक्रमणवाट मर्नेहरुमा प्राय विपन्न परिवारका सदस्य नै रहने गरेका छन् । करौडौं खर्च गरेर खुल्ला दिशामुक्त घोषणा भएको चितवनमा यस्ता विपन्न वस्तीका घरहरुमा शौचालय नहुदा खोलाकान्ला र खेतवारीमै शौच गर्नुपर्ने वाध्यता छ ।

रातको समयमा खुल्ला स्थानमा शौच गर्नुपर्ने कारणले निकुन्जका नजिकका वस्तीका जनताले यसरी ज्यान गुमाईरहेका छन् ।