९ फागुन, काठमाडौ । 

बल्खु तथा त्यस आसपास क्षेत्रको वाग्मती नदीमा आज सरसफाइ गरी करिब ५५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती नदी सफाइ महाअभियानअन्तर्गत ९३औँ शृङ्खलामा आज बल्खु तथा सानेपा क्षेत्रको नदीबाट फोहर निकालिएको हो । गत वर्ष जेठ ४ गतेदेखि सुरु गरिएको महाअभियानको नेतृत्व मुख्यसचिव लीलामणि पौड्यालले गर्दै आएका छन ।

उक्त कार्यक्रममा मुख्यसचिव पौड्यालले महानगरपालिकालाई नदी आसपास क्षेत्रमा अनुगमन बढाउन आग्रह गर्दै फोहर मिसाउने व्यक्ति तथा सङ्घसंस्थालाई कारबाही गर्न निर्देशन दिए ।

waste

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था महाशाखाका प्रमुख रवीनमान श्रेष्ठले नदीमा सिधै फोहर मिसाउने प्रवृत्ति अहिले धेरै कम भए पनि नदीको किनारामा फोहर थुपार्ने गरेको पाइएकाले त्यसलाई व्यवस्थापन गर्न हप्तमा तीन पटक गाडीको व्यवस्था मिलाइने बताउँदै त्यस क्षेत्रमा फोहर गरेका केही संस्थालाई आज रु पाँच हजार जरिवाना गरिएको जानकारी दिए ।