१८ फागुन, काठमाडौँ ।

पश्चिमी वायुको प्रभावमा अरब सागरको जलवास्पको संलग्नता रहेका कारण देशभर मौसम बदली भई निरन्तर वर्षात हुदाँ प्रभावित बनेको जनजीवन मङ्गलबारदेखि सामान्य बन्ने बताइएको छ ।

तीन दिनदेखि खराब रहेको मौसम मङ्गलबारदेखि क्रमिकरुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले बताएको हो । फागुनको दोस्रो साता मौसम बदली भई भारी वर्षा हुँदा चिसो बढेपछि देशका विभिन्न भेगको जनजीवन प्रभावित भएको थियो ।

rain

देशको पूर्वी र मध्य भागमा मङ्गलबारदेखि मौसम क्रमिकरुपमा सुधार आएपनि पश्चिमी तथा सुदूरपश्चिम भेगमा भने बुधबारदेखि मात्र मौसममा सुधार आउने मौसमविद् सुवास रिमालले राससलाई जानकारी दिए ।

“काठमाडौँमा अपराह्नदेखि मौसम सुधार आएको छ, तर साँझतिर पुनः पानी पर्ने सम्भावना छ, पूर्वी र मध्य भेगमा सुधार आएपनि पश्चिमी भेगको मौसम सुधारका लागि मङ्गलबारसम्म कुर्नुपर्छ तर तुलनात्मकरुपमा भोलिदेखि सुधार आउनेछ,”– उनले भने ।

मौसमविद् रिमालका अनुसार पूर्वमा न्यूनचापीय प्रणाली सर्ने क्रममा विस्तारित भएर उत्तरी अरब सागरसम्म विस्तार हुँदा यो प्रणाली थप बलियो हुने हुँदा मौसम बदली गराउने र वर्षा गराउने गर्छ । जसको असरस्वरुप शनिबारदेखिनै मौसम बदली सुरु भएको थियो । आइतबार दिनभर मौसम बदली भई वर्षा हुनुका साथै हिमाली भेगमा हिमपात भएको थियो भने आज पनि देशका अधिकांश भेगमा वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखामा रेकर्ड भएको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी डडेलधुरामा ५४ मिलिमिटर वर्षा भएको छ, भने सबैभन्दा कम विराटनगरमा २.० वर्षा भएको छ । त्यसैगरी दिपायलमा ४४, वीरेन्द्रनगरमा ३५ मिलिमिटर वर्षा भएको छ ।

सबैभन्दा बढी तापक्रम विराटनगरमा (अधिकतम २९ र न्यूनतम १८) डिग्रिसेल्सियस र सबैभन्दा कम तापक्रम डडेलधुरामा (अधिकतम ७.४ र न्यूनतम ४.०) डिग्रिसेल्सियस रहेको छ ।

काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ९.५ र अधिकतम तापक्रम १६.६ डिग्रिसेल्सियस रहेको छ । रासस