२० फागुन, काठमाडौ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान धावनमार्गबाट हटाउन समय लाग्ने भएकाले अन्तर्राष्ट्रिय उडानहरु भोलि अपराह्न ४ बजेपछि मात्र सुचारु हुने भएका छन् ।

अवतरणका क्रममा विमान धावनमार्ग छेउको जमिनमा धस्सिएकाले हिलाम्मे जमिनबाट विमानलाई सुरक्षितरुपमा निकाल्न अफ्ठ्यारो हुनुका साथै आवश्यक उपकरण जुटाउन समय लागेकाले भोलि अपराह्न ४ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको हो । यद्यपी विमानस्थलले आन्तरिक उडान भने आजै सुरु गरिसकेको छ ।

Turkis air

मुख्य धावनमार्गमा अवरोध हुने गरी किनारको जमिनमा धस्सिएको विमान निकाल्न मुलुकभित्र कै विज्ञ तथा उपकरणबाट प्रयास गरिने र सम्भव नभए भारतबाट सम्बन्धित विज्ञको टोली र उपकरण ल्याइने विमानस्थल नागरिक उड्ययन कार्यालयले बताएको छ ।

धावनमार्गको आधा भाग सञ्चालनमा रहेकाले सोही आधा भागमार्फत भारतबाट मध्यमखालका जहाजबाट विज्ञ टोली र उपकरण ल्याउन सकिने विमानस्थल नागरिक उड्ययन कार्यालयका भरतप्रसाद श्रेष्ठले जानकारी दिए ।

विमानस्थलमा दैनिक ३५ अन्तर्राष्ट्रिय उडान भर्ने र सोही सङ्ख्यामा विमान अवतरण हुँदै आएका छन् । उक्त उडान तथा अवतरणहरुबाट दैनिक १२ हजार यात्रु आवतजावत गर्ने विमानस्थलमा आज भने कुनै विमानले उडान र अवतरण नगर्दा विमानस्थमा यात्रु अलमल्लमा देखिएका थिए ।

त्यसैगरी, आन्तरिकतर्फ दैनिक १५० वटा उडान र सोही सङ्ख्यामा विमान अवतरणबाट चार हजार यात्रु आवतजावत गर्दै विमानस्थलमा ढिला गरी केही सीमित विमानहरुले मात्र उडान भरेका थिए । अन्य सबै यात्रु विमानस्थलमा नै रहेकाले विमानस्थल वरपरसम्म यात्रुको खचाखच भिड थियो ।

विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडानका सबै विमान कम्पनीलाई आ–आफ्ना यात्रुको खानपीन र बसोबासको व्यवस्थापन गर्न आग्रह गरेको कार्यालयका प्रबन्धक पूर्णप्रसाद चुडालले बताए ।

विमान दुर्घटना भएपछि आजका लागि तय गरिएका सबै अन्तर्राष्ट्रिय उडान रद्द हुँदा हजारौं यात्रु उडानका पर्खाइमा हुनुका साथै अर्को उडानको समय यकिन नगरिँदा उनीहरू अन्योलमा परेका देखिन्थे । रासस