२८ फागुन, काठमाडौं ।

एमाओवादी नेतृतवको मोर्चाले औपचारिक निर्णाय गरेर वार्तामा गएपनि एमाले अध्यक्ष के पी ओली बैठकमा सहभागि नभएपछि सत्ता पक्षिय जिम्मेवार नभएको निष्कर्ष मोर्चाले निकालेको थियो । एक पटकको औपचारिक वार्ता सफल नभएपछि मोर्चाले तेस्रो तथा निर्णयक आन्दोलन गर्ने गरी कार्यक्रम सार्वजनिक गर्ने तयार गरेपनि प्रधानमन्त्रीको आग्रहमा ४ दिन रोकेर चैत १ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । तर यो चार दिनको अवधिमा पनि खासै प्रगती हुने संकेत देखिएका छैनन् ।

दलहरु साँच्चीकै वार्ता गरेर सहमति गर्न चाहेको भए यो चार दिनको अवधिलाई गम्भीरताका साथ लिएर वार्ता गर्नु पर्ने थियो । तर हिजो दलहरुबीच अनौपचारिक संवाद पनि भए भने आज पनि वार्ताको सम्भावना अहिलेसम्म देखिएको छैन ।

kp sharma oli

दुई दलमा ओली अनुपस्थित
चैत्र १ गते निर्णायक आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने ३० दलीय मोर्चाको चेतावनी पछि कांग्रेस एमाले छलफलमा जुटेका छन् । दुई दल बालुवाटारमा छलफलमा जुटेपनि एमाले अध्यक्ष के पी ओली भने सहभागि भएका छैनन् । एमालेको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्षहरु बामदेव गौतम, विद्या भण्डारी, भिम रावल र प्रमुख सचेतक अग्नि खरेल सहभागि छन् । तर अधयक्ष ओली भने विरामी भएका कारण बैठकमा नगएको उनको नीजि सचिवालयले जनाएको छ ।

ओलीका स्वकिय सचिव रमेश आचार्यका अनुसार ओलीलाई रुघा खोकी लागेको छ । भाइरल इनफेक्सन हुन सक्ने सम्भावनाले ओलीले आफ्नै निवास बालकोट भक्तपुरमा आराम गरिरहेका छन् । र उनी अझै केही दिन बैठकमा सहभागि हुने गरी बाहिर निस्कनेवाला छैनन् । उनी विरामी भएकै कारण एमालेको स्थाई कमिटि बैठक हिजो उनको निवासमै बसेको थियो ।

चार पक्षीय बैठक अनिश्चित
दुई दलको बैठक पछि आजै चार पक्षीय बैठक बस्ने भनिएको छ तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीका अनुसार आज बैठक बस्ने सम्भावना निक्कै न्यून छ । आजै दिउँसो ३ बजे मन्त्री परिषद्को बैठक बस्ने भएकाले माओवादी र मधेसी मोर्चा सहित बैठक बस्ने सम्भावना नरहेको अधिकारीले बताए ।