१ चैत, काठमाडौं । 

बाग्लुङ्ग क्षेत्र नम्बर १ मा चौत २८ गते हुने संविधानसभा उपचुनावमा एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले टिकट फिर्ता गरे पछि कृष्ण केसीको उम्मेदवारी परेको छ । उच्च रक्तचाप र मुटुसम्बन्धी बिरामीले गर्दा आफू चुनावी क्षेत्रमा जान नसक्ने भन्दै पोखराको अस्पतालमा उपचार गराईरहेका शर्मालाई चिकित्सकले आरामको आवश्यकता भन्दै हिडडुलन नगर्न भनेपछि उनले टिकट फिर्ता गरेका हुन् । शार्माले आफूले स्वास्थ्यका कारण चुनाव लड्न नसक्ने बताएपछि केसीले उम्मेदवारी दिएको बताए ।

dinanath-sharma

शर्माले अचानक स्वास्थ्य अवस्था प्रतिकुल भएका कारण निर्वाचनमा जान असमर्थ रहेको जानकारी गराउनुपर्दा आफूलाई दुख लागेको भन्दै एकीकृत माओवादीका उम्मेदवार केसीलाई विजयी गराउन बागलुङ क्षेत्र नं. १ का मतदातालाई अनुरोध गरेका छन् ।

यसैबीच दोस्रो संविधानसभाको चुनाव वहिस्कार गरेको मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले चैत २८ गते बाग्लुङ क्षेत्र नम्बर एकमा हुने उपनिर्वाचन पनि वहिस्कार गर्ने भएको छ । पार्टी प्रवक्ता पम्फा भुषालले विज्ञप्ती निकालेर जनता र परिवर्तनको पक्षमा संविधान दिन सक्ने पहिलो संविधानसभाको विघटनपछि राष्ट्रिय राजनीतिक सहमतिबिना प्रायोजित, अलोकतान्त्रिक र असंवैधानिक तरिकाले गठन भएको “दोस्रो संविधानसभा”बाट जनताको संविधान नआउने आफ्नो पार्टीको पूर्व घोषणा यतिबेला व्यवहारिक ढंगले सही सावित भएको भन्दै २८ गते हुने उपचुनाव पनि वहिस्कार गर्न पार्टी कार्यकर्तालाई आब्हान गरेकी छिन् ।

नेकपा माओवादीले आफूहरुले प्रस्ताव गरे अनुसार संविधानसभाको विघटन गरी परिवर्तनकारी सबै राजनैतिक शक्तिहरुको सर्वपक्षीय राजनैतिकसभा आयोजना गरी जनताको संघीय गणतन्त्रात्मक संविधान जारी गर्नु पर्ने औचित्यता अझ प्रष्ट भएको बताएको छ ।