२२ साउन, चितवन ।

भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आज पद तथा गोपनियताको सपथ लिने भएका छन् । दिउँसो ३ बजे उनीहरुलाई सपथ खुवाइने कार्यक्रम तय भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तर दुईवटा वडाका वडाध्याक्षले भने आज सफल लिन नपाउने भएका छन् ।

महानगरपालिकाकी मेयर रेणु दाहाल, उपमेयर पार्वती साहसहित २७ वर्डाका अध्यक्ष र प्रतिनिधि गरी १४५ जनाले सपथ लिन लागेका हुन् । प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई प्रमुख निर्वाचन अधिकृतले र बाँकीलाई मेयर रेणु दाहालले सपथ खुवाउने छिन् ।

एमालेबाट निर्वाचत वडा नम्बर ४ का अध्यक्ष हरि आचार्य र ७ वडाका अध्यक्ष राजेन्द्रमणी काफ्लेका विरुद्ध उच्च अदालतमा मुद्धा परेको र अदालतले हाललाई उनीहरुबाट कुनै काम कार्वाही नगराउन आदेह दिएकाले सपथ लिन नपाउने भएका हुन् ।

आचार्यविरुद्ध कांग्रेसका उम्मेदवार उपेन्द्रराज सापकोटा र काफ्लेविरुद्ध कांग्रेसकै श्यामप्राद लामिछानेले उच्च अदालत हेटौंडामा मुद्धा हालेका छन् । साप्कोटा ७ र लामिछाने १४ मतान्तरले पराजित भएका थिए ।

भरतपुरमा पहिलो चरणअन्तर्गत बैशाख ३१ गते निर्वाचन भएको थियो । तर १९ वडा बाहेक सबैको नतिजा पहिले नै आइसकेको भएपनि १९ वडाका कारण निर्वाचित प्रतिनिधिले पनि सपथ लिन पाएका थिएनन् ।