५ भदौ, काठमाडौं ।

संविधान संशोधन प्रस्तावमाथि सांसदहरूले बोल्ने क्रम सकिएपछि आज (सोमबार) संसद्मा निर्णयार्थ पेस हुने भएको छ । मतदान प्रक्रियामार्फत संशोधन प्रस्ताव टुंगो लगाइने भएको हो । संशोधन प्रस्तावमाथि संशोधन हालेका ५० संशोधनकर्ताले आइतबार नै आफ्ना धारणा राखिसकेका छन् । तर, अन्य सांसदले बोल्न इच्छा देखाएपछि छलफल सोमबारसम्मका लागि लम्बिएको हो ।

एमालेलाई दोषी देखाउन ल्याइयो

एमाले सांसदहरूले आफ्नो दललाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइएको आरोप लगाएका छन् । संशोधन प्रस्ताव पास वा फेल जे भए पनि टुंगो लगाउन सत्तापक्ष तयार हुनुले विपक्षीलाई दोषी देखाउने षड्यन्त्र मात्र भएको उनीहरूको दाबी छ । संशोधन प्रस्ताव पारित नहुने निश्चित भए पनि सरकारले निर्णयार्थ प्रस्ताव प्रस्तुत गरेर राजनीति गरेको टिप्पणी गरे । एमाले सांसद भीम रावलले संशोधन प्रस्तावले संविधानको मर्यादालाई कमजोर बनाएको टिप्पणी गरे । ‘सरकारले ल्याएको यो प्रस्तावले जननिर्वाचित प्रतिनिधिहरूको अधिकार कुण्ठित गरेको छ । यो स्वीकार्य छैन,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

अर्का एमाले सांसद रवीन्द्र अधिकारीले प्रमुख प्रतिपक्षी दलसँग छलफल नगरी सरकारले संशोधन प्रस्ताव ल्याएकोमा आपत्ति जनाए । उनले संविधान संशोधनको पक्षमा दुईतिहाइ पुग्नै नसक्ने भन्दै सत्तापक्षले जबर्जस्त प्रस्ताव ल्याएको बताए । सांसद अग्नि खरेलले संविधान संशोधनले जनताको भावनालाई सम्बोधन नगर्ने बताए । नजिकिँदै गरेको २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन र अरू निर्वाचनमा एमालेलाई कमजोर साबित गर्न सत्तापक्षले संशोधन प्रस्ताव ल्याएको एमाले सांसदहरूको टिप्पणी छ ।

अझै ३५ सांसदले बोल्न बाँकी

संविधान संशोधन प्रस्तावमाथि अझै तीन दर्जन सांसदले बोल्न बाँकी छ । आइतबार संसद्मा संशोधनकर्ताले बोलिसकेपछि सभामुख ओनसरी घर्तीले संशोधन प्रस्तावमाथि बोल्न चाहने सांसदलाई नाम टिपाउन थप आधा घन्टाको समय दिएकी थिइन् । सो समयभित्र ४० जना सांसदले नाम टिपाएका थिए । त्यसमध्ये पाँचजना सांसदले आइतबार नै बोलिसकेका छन् । अब सोमबार ३५ सांसदले धारणा राख्ने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । संशोधन प्रस्तावमाथि बोल्नेक्रम सकिएपछि सबै संशोधनलाई निणयार्थ प्रस्तुत गरिनेछ । ‘सबै संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिसकेपछि एकमुष्ठ संशोधन विधेयकलाई प्रस्तुत गरिनेछ । त्यसमा पक्ष–विपक्षमा मत संकलन गरिनेछ,’ पौडेलले भने ।