२५ कात्तिक, सुर्खेत ।

सुर्खेतवाट प्रहरीले ठूलो परिणाममा बम बनाउन प्रयोग गरिने विष्फोटक सामाग्री बरामद गरेको छ । विशेष सुराकीको आधारमा ध १ ज १०६ नम्वरको जीप चेकजाँच गर्दा ६० थान डेटोनेटर, ५ सय ५५ थान जिलेटिन, २२ मिटर फ्यूज वायर बरामद गरेको सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले बताए ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट शुक्रबार बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत बरामद गरेको प्रहरीले जनाएको छ ।बम बनाउन प्रयोग गरिने सामाग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोवाइल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

एसपी आचार्यले ‘विष्फोटक सामाग्री ल्याउने व्यक्तिको खोजी भैइरहेको पनि जानकारी दिए । प्रहरीले विष्फोटक सामाग्री भारतबाट कैलाली हुँदै ल्याएको हुन सक्ने भन्दै उनले निर्वाचनलाई प्रभाव पार्नका लागि निर्वाचन विरोधी समूहले विष्फोटक सामाग्री भारतबाट भित्र्याएको हुनसक्ने बताए ।विष्फोटक सामाग्रीसँगै सिमसहितको मोवाइल बरामद भएकाले अनुसन्धान गर्न सहज हुने भन्दै उनले मोवाइलको कल डिटेल निकालेर अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए ।

प्रहरीले एकसाता अघि सुर्खेतकै भेरीगंगा नगरपालिकाको छिन्चुबाट बम बनाउन प्रयोग गरिने विष्फोटक सामाग्रीसहित एक पूर्व लडाकुलाई पक्राउ गरेको थियो । जाजरकोट लिन लागिएको चार थान डेटोनेटर, सेप्टीफ्यूज, पाँच वटा विद्युतीय स्वीच, होल्डर, हत्कडी र एक लाख २५ हजार नगदसहित पूर्व माओवादी लडाकु दलबहादुर कामी पक्राउ परेका थिए ।

चुनावको मुखैमा ठूलो परिणाममा विस्फोटक सामाग्री बरामद हुन थालेपछि प्रहरीले सार्वजनिक सवारी साधनको चेकिङ बढाउनुका साथै संकास्पद ठाउँमा सादा पोशाकमा प्रहरी खटाउन थालेको छ ।