२६ फागुन, काठमाडौ । राष्ट्रिय फुटबल टोलीका २३ खेलाडी एनसेल वर्ष खेलाडीको मनोनयनमा परेका छन् । उत्कृ्ष्ट हुने एक फुटबल खेलाडीले कार उपहार पाउनेछन् ।
अखिल नेपाल फुटबल संघ एन्फा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनसेल प्लेयर अफ द इयरको घोषणा ३० चैत्रमा हुने जानकारी दिइएको छ । एन्फाका अध्यक्ष गणेश थापाका अनुसार उत्कृष्ट खेलाडीलाई कार दिइने भएपनि कुन कार दिेन भनेर निर्णय भने भइनसकेको बताएका छन् । उनका अनुसार उक्त कार एनसेलसँग भएको १ करोड बराबरको सम्झौताभित्र बाटै नै दिइने छ ।
उनले तीन तरिकाबाट मत संकलन गरिने र त्यसैको आधारमा उत्कृष्ट खेलाडीको टुङ्गो लगाउने बताएका छन् । ती तीन तरिकामा एसएमएस भोटिङ, रजिस्टर्ड फुटबल प्रशिक्षक र खेलकुद पत्रकारको मतदान रहेका छन् । भोट गर्न चाहनेले फागुन २८ देखी चैत २७ सम्म एनसेलकै सिमबाट भोट गर्नु पर्ने सम्मेलनमा बताइएको थियो ।
मनोनयनमा पर्ने खेलाडीहरूमा रितेश थापा, किरण चेमजोङ, सन्दिप राई, विराज महर्जन, भोला सिलवाल, जुमानु राई, विजय गुरूङ, विक्रम लामा, सन्तोष साहुखल, विकेश कुथु, विजय धिमाल, चेतन घिमिरे, रोहित चन्द, अमर डंगोल लगायतका खेलाडी रहेका छन् ।