२९ जेठ, महोत्तरी । गौशाला बजारस्थित सहयोगी विकाश बैंकको ५० लाख रुपैयाँ बुधबार दिउँसो लुटेरा समुहले लुटेको छ ।

जनकपुरस्थित नेपाल राष्ट्र बैंकबाट निकालिएको उक्त रकम ना २ च २७२२ नम्बरको जीपमा राखी बैकतर्फ ल्याउँदै गर्दा गौशाला- ८ स्थित नवराजपुरको पचाईन टोलमा हतियारसहित मोटरसाइकलमा आएका लुटेराको समुहले लुटेको हो ।

बैंकका वरिष्ठ सहायक नवल किशोर ठाकुरले गौशालास्थित इलाका प्रहरीलाई दिएको जानकारी अनुसार २ वटा मोटरसाइकलमा आएका ५ जनाले हतियार तेर्स्याएर रकम लुटेका हुन् ।

लुटेरा समुहले गार्डलाई कुटपीट गरि राष्ट्र बैकको झोलासहित रकम लगेका थिए । पीडितले मोबाइलसमेत लुटी लगेकोले घटनाबारे तत्कालै खवर गर्न नसकिएको प्रहरीलाई जनाएका छन् ।

घटनाबारे छानबिन र अनुसन्धान जारी राखेका प्रहरीले जनाएका छन् ।