११ भदौ, एजेन्सी । अफगानिस्तानको पश्चिमी भागमा पर्ने हेरात प्रान्तमा छ जना सरकारी कर्मचारीलाई तालिवानले अपहरणपछि हत्या गरेका छन् ।

उक्त जानकारी प्रान्तीय प्रहरी स्रोतले मङ्गलबार दिएको छ । ती सरकारी कर्मचारी कयौँ दिन अगाडिदेखि नै अपहरणमा परेका समाचारमा उल्लेख छ ।

हेरात प्रान्तको गुल्रान जिल्लामा मङ्गलबार बिहान सबेरै ती छ व्यक्तिको शव भेटिएको समाचारमा उल्लेख छ । ती सबैलाई गोली प्रहारगरी हत्या गरिएको अपराध अनुसन्धान विभागका इस्राएल खानले सिन्ह्वा समाचार समितिलाई बताए ।

राजधानी काबुलदेखि ६४० किलोमिटर पश्चिममा पर्ने हेरात प्रान्तको एक सरकारी परियोजनामा कार्यरत ती व्यक्तिहरुमा चार जना इञ्जिनियर र दुई कर्मचारी रहेका प्रहरी स्रोतले जनाएको छ ।

तालिवानहरुले प्रायः अफगान र नेटोसँग आवद्ध सैनिक र सरकारी कर्मचारीलाई निशाना बनाउँदै आएको पाइन्छ ।

गत जुलाईमा संयुक्त राष्ट्रसङ्घले काबुलमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको ६ महिनामा अफागान द्वन्द्वसँग सम्बन्धित हिंसामा एक हजार ३१९ नागरिकको मृत्यु भएको र दुई हजार ५३३ व्यक्ति घाइते भएका छन् ।

सो प्रतिवेदनअनुसार नागरिक हताहतिमा ७४ प्रतिशत तालिवान र अन्य आतङ्ककारी समूहले गरेको आक्रमणमा भएको जनाइएको छ ।

सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गरिसक्ने घोषणा यसअघि नै सबै देशले गरिसकेका छन् ।

तर त्यहाँको शान्तिको अवस्थामा खासै परिवर्तन नभएकाले त्यसपछिको अफगानिस्तानका बारेमा चिन्ता व्यक्त हुने गरेका छन् । रासस/सिन्ह्वा